काठमाडौ । कोरोनाका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गते देखि दशैभर शुरु हुने भएको छ ।
सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको छ । चलचित्र निर्माता सङ्घले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए ।
सरकारले एक महिनाअघि नै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेको हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताए ।
कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेको छ । करोडौं रुपियाँ लगानीबाट निर्माण भएको चलचित्र रिलिज गरे पनि दर्शकको उपस्थिति नभए व्यवसायीलाई नोक्सान हुने भन्दै व्यवसायीहरुले दर्शकहरुमा स्वास्थ्यका दृष्टिले सुरक्षित र दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रम ल्याउने समेत तयारी थालेको जनाएको छ । यता चलचित्र विकास बोर्डले भने रिलिज हुने चलचित्रलाई प्रतिगोटा पाँच लाखसम्म राहतस्वरुप सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । कोरोना महामारीका कारण देशभरका दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द रहेको सङ्घको भनाइ छ ।