महेन्द्रनगर । लामो समयदेखि पुस्तक, काव्य एवं सुदूरपश्चिमको कला, संस्कृति जगेर्नाका लागि डोट्याली भाषामा पनि लेखन यात्रामा रहनुुभएका कञ्चनपुरको महेन्द्रनगरका पूर्व डिन डा.टेकराज पन्तले १२ वटा कृति बजारमा ल्याउनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिनसमेत रहनुभएका लेखक डा पन्तले हिन्दी, अङ्ग्रेजी भाषामा समेत काव्य र पुस्तक लेखन गरेको बताउनुभयो ।
“बाह« कृतिमध्ये दुई हिन्दी, एउटा अङ्ग्रेजी र बाँकी सबै नेपाली भाषामा पुस्तक लेखेको छु”, डा पन्तले भन्नुभयो, “तर सामाजिक सञ्जाल र इन्टरनेटको बढ्दो प्रयोगले गहन अध्ययन लोप हँुदै गयो ।” चालु वर्षमा निबन्ध र डोट्याली भाषामा किताब लेखनमा जुटेका पन्तले पुस्तक सार्वजनिक भइसकेपछि समीक्षा र विश्लेशण गर्ने बौद्धिक जमातको पनि ध्यान यहाँ कम हुँदै गएको बताउनुभयो । विसं २०३० को दशकअघिदेखि लेखन यात्रामा रहेका पन्तले २०५० को दशकयता निरन्तर काव्य लेखनमा सक्रियता देखाउँदै आउनुभएको छ ।
उहाँले हालसम्म ‘अनावरण’, का साथै सुदूरपश्चिमाको शिक्षा क्षेत्रका चुनौती र समस्यालगायतका बारेमा समेत पुस्तक लेख्नुभएको छ । त्यसका साथै उहाँले ‘विविधा’, ‘काव्याञ्जली’, मणिनिद्रह’, ‘पद्ययसुरवी’, वियोगिनी र ‘प्रकृति महिमा’लगायतका काव्य बजारमा पाठकसामु पस्किसक्ुन भएको छ । उहाँले भन्नुभयो, “गम्भीर अध्ययन, चिन्तन र ममन् लोप हँुदै गयो ।” उहाँले बढ्दो इन्टरनेटको प्रयोगले गहन अध्ययन गर्ने इच्छा शक्ति नै हराउँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
“चर्चित लेखकका सामान्य कृति महान बन्छन्, तर यहाँ कठोर परिश्रमले लेखेका किताबको प्रचार हुने र समीक्षा गर्ने भेटिदैनन्”, उहाँले भन्नुभयो, “मैले त झन् ‘पेशन’ नै भएका कारण आफ्नै लगानी हरेक वर्ष पुस्तक प्रकाशन गरिरहेको छु ।”
सत्तरी वर्षीय डा पन्तले यहाँ किताबको समीक्षा गर्ने संस्कृति नै हराउँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “हरेक वर्ष दुई÷तीन किताब लेखिरहेको हुन्छु”, उहाँले भन्नुभयो, “बिचको केही समय स्वास्थ्य अवस्था प्रतिकूल भएकाले लेखन यात्रा रोकिए पनि पुनः सुरु गरेको छु ।”
त्यसैगरी भीमदत्त नगरपालिका–२ का ६० वर्षीय स्रष्टा नरबहादुर साउदको लेखन र अध्ययन अझै निरन्तर छ । विसं २०६६ मा ‘नेपालका बालीनाली र तिनको दिगोखेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार विजेता साउद अहिले भने केही समय शास्त्री अध्ययन गर्दै हुनुहुन्छ ।
“अबको पाँच÷छ महिनामा शास्त्री तहको अध्ययन सकिएपछि पुनः लेखक यात्रामा लाग्छु”, ह्वीलचेयरमा बसेर पुस्तक लेखनमा सक्रिय साउदले भन्नुभयो, “पुस्तक बजारमा आइरहे पनि अध्ययन गर्नेहरुको कमी हुँदै गयो ।” उहाँले पनि बढ्दो इन्टरनेटको प्रयोगको प्रभाव अध्ययनमा परिरहेको बताउनुभयो ।
‘च्याउ खेती’ र कक्षा १ देखि ५ सम्मको पाठ्यक्रमका लागि ‘हाम्रो खेतीपाती’ नामक पुस्तकसमेत लेखेका साउदले पारिवारिक समस्याका बीच अध्ययन र लेखनलाई भने छाडेनुभएको छैन । “इन्टरनेटमा अध्ययन सामग्री सबै पाउने भएकाले पनि अन्य ज्ञानगुनका पुस्तक पढ्ने कम हुँदै गए”, साउदले भन्नुभयो, “अहिले पनि साझा प्रकाशनले मैले मदन पुरस्कार पाएको किताबको दोस्रो संस्करण प्रकाशन गर्ने जनाएको छ ।” उहाँले पुस्तक ज्ञानको भण्डार भएकाले यसको अध्ययनको विकासका लागि सरकारले पनि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
विसं २०४७ मा दुग्ध संस्थानको जागिर हुँदा बुटवलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको ट्याङ्कर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हुँदा साउद मेरुदण्ड नै भाँचिदा अपाङ्गता हुन पुग्नुभएको थियो । उहाँको लेखक यात्रालाई भने शारीरिक अशक्तताले रोकेको छैन् ।
त्यसैगरी युवा पुस्तामा लेखन यात्रालाई साथ दिँदै आउनुभएका कविराज भट्टले पनि कविता, कथा, उपन्यास, गजल, निबन्ध र अनुसन्धानमुलक लेख लेख्दै आउनुभएको छ । डेढ दशकदेखि लेखन यात्रालाई निरन्तरता दिँदै आउनुभएका साहित्यकार भट्टले कृति बजारमा आए पनि पढ्ने मानिसको धेरै कमी भएको बताउनुभयो ।
उहाँले पनि प्रविधिको बढ्दो प्रयोगका साथै उस्तै पनि पुस्तक अध्ययन गर्ने मान्छेको बानीमा समेत ह्रास आउँदै गएको बताउनुभयो । “आजको पुस्तक भोलिको इतिहास हो”, उहाँले भन्नुभयो, “संस्कृतिको विकासका लागि परिवार र विद्यालयबाट भूमिका आवश्यक छ ।” उहाँले स्थानीय सरकारले पनि लेखनसीपका साथै सार्वजनिक पुस्तकालय स्थापना गरेर पढ्ने वातावरण मिलाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । “भएको एउटा सार्वजनिक पुस्तकालय पनि बन्द नै छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयको पुस्तकालयमा विद्यार्थीबाहेकको पहुँच छैन ।”
उहाँले महेन्द्रनगरमा पुस्तक, काव्य लेखनमा विगतमा स्व वासुदेव भट्ट ‘भाइसाव’, आत्मराम ओझाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । पछिल्लो समय लेखन यात्रामा यहाँ डा टेकराज पन्त, नारा जोशी, हेमबाबु लेखक, रमेश पन्त ‘मितबन्धु’, चन्द्रकला पन्त, जगदीश ओझालगायतको सक्रियता र निरन्तरता रहेको भट्टको भनाइ छ ।