डाक्टरले नी जागीर यहाँ सरकारी कोटामा खान्छ ।
बीरामी जाच्न फेरी क्लिनिक तिर तान्छ ।।
लुट्न सके लुट कान्छा, लुट्न सके लुट ।।।
अरु देशमा पाइदैन, नेपालमैको छुट ।।
गायक पशुपति शर्माको यो गीतमा भने जस्तै कञ्चनपुरको महाकाली प्रादेशीक अस्पतालमा पनि यहि हुने गरेको सेवाग्राहीको गुनासो छ ।
केही समय अघि मात्रै कञ्चनपुरमा निजि लगानीमा मन्त्र हस्पीटल सञ्चालनमा आएपछि यहाँका स्थानीयले घर नजिकै स्वास्थ्य सेवा पाउने आशा गरिएको थियो । निजि लगानीमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीयले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा समेत गरिएको थियो । तर निजि अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीयले सर्वशुलभ स्वास्थ्य सेवा पाउनुको सट्टा सरकारी सेवा सुविधा समेत पाउन मुस्किल परेको स्थानीय गुनासो छ ।
महाकाली प्रादेशीक अस्पतालमा भर्ना हुन आउने बीरामीहरुलाई अस्पतालमा उपचार हुने व्यवस्था हुदा हुदै अस्पतालकै केही डाक्टरहरुले मन्त्र हस्पीटलमा पठाउने गरेको पाइएको छ । महाकाली प्रादेशीक अस्पतालदेखी ५०० मिटरको दुरीमा रहेको मन्त्र हस्पीटलमा महाकाली अस्पतालका अधिकांश डाक्टरहरुको समेत लगानी रहेको छ । जसका कारण यहाँका डाक्टरहरुले सरकारी अस्पतालमा आएका बीरामीहरुलाई मन्त्र हस्पीटल पठाउने गरेका छन ।
सरकारी अस्पतालमा आएका बीरामीहरुलाई अस्पतालका डाक्टरहरुले मन्त्र हस्पीटल पठाउने गरेका अधिकांश सेवाग्राहीहरुको गुनासो गर्ने गरेका छन । “सरकारी अस्पतालमा उपचारका लागि सुविधा हुदाहुदै यहाँका डाक्टरहरुले मन्त्र अस्पतालमा पठाउने गरेका छन ।” एक सेवाग्राहीले भने–“डाक्टरहरुले उपकरण लगायतका विभिन्न बहाना बनाएर बिरामीलाई मन्त्र पठाउने गरेका छन ।” ती सेवाग्रहीले मन्त्र अस्पतालमा चर्को शुल्क लिने गरेको बताएका छन । तर महाकाली अस्पतालका मेडिकल सुपरिडेन्टेन डा.अर्जुन भट्टले महाकाली अस्पतालमा आएका बीरामीको उपचार अस्पतालमै हुने गरेको दाबी गरे । “महाकाली अस्पतालमा उपलब्ध सेवा सुविधा हुदा हुदै हामी बाहिर पठाउदैनौ ।” उहाँले भन्नुभयो–“बाहिर हल्ला गरिएको जस्तो छैन,हामीहरुले काम गर्ने भनेकै बीरामीका लागि हो ।” उहाँले बिदाको समय र अस्पतालमा उपलब्ध नभएको सेवाका लागि मात्रै बीरामीहरु बाहिर जाने गरेको बताए ।
“सरकारी अस्पतालमा पालो अनुसार उपचार हुन्छ जो पहिला आयो उसको छिटो होला ढिलो आउनेको समय लाग्ला ।” डा.भट्टले भन्नुभयो–“हामीले त मन्त्र अस्पतालमा आएका बीरामीलाई आर्थिक अवस्था कमजोर छ भनेर सरकारीमा उपचार गराएका छौ तर बाहिर त्यसको ठिक उल्टो समाचार आयो ।”
पछिल्लो समय महाकाली प्रादेशीक अस्पतालमा स्वास्थ्य सेवा थप भएसंगै यहाँका बीरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । तर अस्पातलका डाक्टरहरुले सरकारी अस्पतालमा सेवा सुविधा हुँदाहुदै बाहिर पठाउनु गलत भएको स्थानीयको भनाई छ ।