महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरको गुरुयोजना विपरीत तरकारी बजार निमार्ण गरेको छ ।
नगरपालिकाको वडा–४ स्थित खुलामञ्चको छेउमा भृकुटी विद्यालयतर्फको जग्गामा तरकारी बजार निमार्ण गर्न लागेको हो । गुरुयोजना अनुसार खुलामञ्चको छेउमा रहेको उक्त जग्गा हेलीप्याडका लागि छुट्याएको हो तर नगरको संरक्षणको दायित्व भएको नगरपालिका आफैले गुरुयोजना मिचेर हेलीप्याडका लागि छुट्याएको जग्गामा तरकारी बजारका लागि दुई वटा भवन निमार्ण गरिरहेको स्थानीय जानकार बताउँछन ।
यहाँका जानकार बलदेव अवस्थीले २०२८ सालमा गुरुयोजनामा उक्त जग्गा हेलीप्याडका लागि छुट्र्याएको बताए । “२०२८ सालतिर त्यहाँ हेलीकप्टर बस्थ्यो पछि के भयो थाहा भएन गुल्ममा हेलीकप्टर बस्न थाल्यो ।” उनले भने । उनका अनुसार त्यो बेला मञ्चमा कार्यक्रम भएका बेला नजिकै हेलीकप्टर ल्याड गरेर कार्यक्रममा आउने गरिन्थो ।
यहाँका स्थानीय किसन जोशीले विद्यालय शान्ती क्षेत्र भएकाले उक्त ठाउँमा तरकारी बजार बन्नु नै गलत भएको बताए । “विद्यालयलाई शान्ती क्षेत्र भनेको छ नजिकै तरकारी बजार बन्नु उचित होइन ।” उनले भने–“हामीले त भवन बन्न थालेपछि के बन्दै छ भनेर सोध्दा थाहा पायौ ।” उनले तरकारी बजारमा बिहानैदेखी होहल्ला हुने भएकाले तरकारी बजारका लागि उक्त ठाउ उपयुक्त नभएको बताए ।
भीमदत्त नगरपालिकाका निवर्तमान एक वडा अध्यक्षले भने उक्त जग्गा गुरुयोजनामा हेलीप्याडको भएको बताउदै त्यो बेला नगरपालिकाले गुरुयोजना विपरीत तरकारी बजार बनाएको बताए । “गुरुयोजनामा उक्त जग्गा हेलीप्याडका लागि हो विद्यालय पनि नजिकै छ हामीले बन्नु हुदैन भन्दा भन्दै त्यो बेलाको नेतृत्वले बनाउ सुरु गरेको हो ।” उनले भने–“त्यसले विद्यालयलाई असर गर्छ ।”
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले भने उक्त जग्गा गुरुयोजनामा हेलीप्याडको नभएको बताए । “त्यो जग्गा हेलीप्याडको होईन गुरुयोजनामा कहिले देखिएन ।” उनले भने–“२०३० सालतिर राजा सवारी हुँदा वाल संगठनको भवनको छेउमा हेलीकम्टर बस्ने गथ्र्यो ।” उनका अनुसार अहिले बैजनाथ विद्यालयको कृर्षि भवन रहेको स्थानमा हेलीकप्टर बस्नेगथ्र्यो ।
नगरपालिकाले उक्त ठाउँमा तरकारी बजारका लागि रु ३ करोड ९९ लाखमा एउटा ठेक्का र १ करोड ७० लाखमा अर्को गरी दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको छ । अहिले नगरपालिकाले भुक्तानी गर्न नसक्दा निमार्ण व्यवसायिले काम गर्न सकेको छैन । भीमदत्त नगरपालिकाका अनुसार २०७७ साउन २५ गते रु १ करोड ७० लाखमा एमडी ग्रुप प्रा.ली संग् २०७९ असार २० मा निमार्ण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा अहिले उक्त कम्पनी म्याद थप पक्रियामा छ ।
त्यसैगरी रु ३ करोड ९९ लाखमा २०७७ जेठ ११ मा एम के निरज निमार्ण कम्पनीसंग २०८० जेठ ११ मा निमार्ण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । अहिले उक्त निमार्ण कम्पनीले काम गरेको भुक्तानी नपाउदा निमार्णकार्य अघि बढ्न सकेको छैन । नगरपालिकाका अनुसार उक्त तरकारी बजारमा १२५ वटा सटर निमार्ण हुन लागेको छन ।