महेन्द्रनगर । कुनै बेला पाठकहरुले भरिभराउ हुने पुस्तकालयहरु अहिले सुनसान छन ।
प्रविधिको बढ्दो पहुँच र पछिल्लो समय सामाजिक सञ्जालका कारण पठन संस्कृतिको लोक हुन थालेपछि पुस्तकालयहरु सुनसान बनेका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालयमा दुई वर्ष पहिलेसम्म पाठकहरु आउने तर अहिले पुस्तकालय सुनसान बनेको छ । शुक्लाफाँटा सामुदायिक पुस्तकालयका सञ्चालक नारायण लम्सालले दुई वर्ष अघिसम्म कहिलेकाहि पाठकहरु आउने गरेको भएपनि अहिले आउनै छोडेको बताउनुभयो ।
“केहि वर्ष पहिलासम्म फाटफुट रुपमा आउथे अहिले त कोही आउदैनन ।” उहाँले भन्नुभयो–“अहिले चाहिएको चीज गुगलमा खोज्दा तुरैन्तै भेटिन्छ त्यसकारण पनि आउदैनन ।” उहाँले पछिल्लो समय पढ्ने बानीको विकास नहुँदा पुस्तकालयहरु सुनसान बनेको बताउनुभयो । “मानिस अहिले फुर्सदमा छ भनेपनि टिकटक फेसबुक चलाएर बस्छ ।” लम्सालले भन्नुभयो–“शिक्षकहरुले विद्यालय स्तरमै विद्यार्थीहरुलाई पढ्न प्रेरित गर्नुपर्छ ।” उहाँले पुस्तकालयमा १२ हजारको हाराहारीमा किताब रहेको बताउनुभयो । “जुन हिसामा हामीसंग पुस्तक छन त्यो अनुसार अध्ययन गनुपर्ने मान्छेको संख्या बढ्नुपर्ने हो तर छैन ।” उहाँले भन्नुभयो–“ अहिले सामाजिक सञ्जालमा सबै भेटिने भएकाले किताब पढ्न मान्छेहरु रुचाउदैनन ।”
त्यसैगरी बेदकोट सामुदायिक पुस्तकालय पनि पाठक नपाउँदा बन्द हुने स्थितिमा छ । यहाँका अध्ययन गर्ने मान्छेहरुलाई सहज होस भनेर २०७४ सालमा स्थापना गरेको सामुदायिक पुस्तकालय पाठक नपाएर धरासायि भएको पुस्तकालयका अध्यक्ष हिक्मत वहादुर सिंहले बताउनुभयो ।
“अहिले पढ्ने बानीको विकास छैन त्यहि भएर यहाँ पढ्न आउने पनि धेरै कम छन ।” अध्यक्ष सिंहले भन्नुभयो–“पुस्तकालयहरु नयाँ प्रविधियुक्त बनाएर सुरु गर्न सके पाठकहरु पनि आउथे ।” उहाँले पुस्तकालयमा अनुसन्धान गर्ने बाहेक अन्य कोहि नआउने गरेको बताउनुभयो । “बुढापाकाहरुले धार्मीक पुस्तक पढ्ने गरेका छन अन्य पुस्तक पढ्न कोहि आउदैनन ।” उहाँले भन्नुभयो–“पुस्तक बाहिर दिए फिर्ता हुदैन नदिएर यहि पढ्.न कोहि आउदैनन ।” उहाँले अध्ययन गर्ने बानीमा ह्रास आएकोले पुस्तकालयहरु बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । “ अहिले फेसबुक,टिकटकले गर्दा त्यसैलाई अध्ययनको विषय बनाएको छ ।” उहाँले भन्नुभयो–“पुस्तकालयमै आएर पढ्ने रुची घट्दै गएको छ ।”
प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतबन्धुले प्रविधिको विकास संगै पुस्तकालयहरु पनि प्रविधियुक्त बनाउनुपर्ने बताउनुभयो । “पुस्तक नपढेसम्म ज्ञान हासिल गर्न सकिदैन त्यसैले पुस्तक बढ्ने बानीको विकास गर्न जरुरी छ ।” उहाँले भन्नुभयो–“पुस्तकालय प्रति अभिरुची राख्न अभिप्रेरित गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।” उहाँले पछिल्लो समय सामाजिक सञ्जाल सहि रुपमा सदुपयोग हुन नसकेको बताउदै ज्ञान हासिल गर्नका लागि सामाजिक सञ्जाल पनि सहयोगि बन्ने बताउनुभयो ।
“पुस्तकालयमा वर्तमान युवाहरुको चाहाना अनुरुपमा पुस्तकहरु पनि उपलब्ध हुनुपर्छ ।” उहाँले भन्नुभयो–“स्रस्टाहरुले पनि त्यहि अनुसारका पुस्तकहरु प्रकाशनमा ल्याउन सक्नुपर्छ ।” केहिले प्रविधिलाई अध्ययनको साधन बनाएपनि अधिकांशले भने केवल रमाईलोका लागि धेरै समय सामाजिक सञ्जालमा बिताउने गरेको उहाँले बताउनुभयो । “विद्यालय स्तरमा पनि विद्यार्थीहरुलाई पुस्तक प्रति अभिरुचि राख्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।” उहाँले भन्नुभयो–“पठन संस्कृतिले समाजमा हुने अपराधिक क्रियाकलापमा समेत कमि आउछ ।”