बझाङ । जयपृथ्वी नगरपालिका– ३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन् । पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन् । दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो ।
खेतीपाती, वस्तुभाउ, नजिकै जङ्गल भएका कारण विष्ट परिवारको अघिल्लै पुस्ताको रोजाइमा परेको क्षेत्र पनि हो पुङर । लामो समयदेखि पानीको समस्यामा परेका पुङरवासीले अहिले भने त्यसबाट पनि मुक्ति पाएका छन् । सय÷सय मिटरको अन्तरमा निर्माण भएका खानेपानीका धाराले सामान्यतया आँगनका बारीमा सिँचाई गर्नसमेत राहत मिलेको छ ।
खेतबारी सिँचाइका लागि अहिले पुङर लेकमा पक्की नहर निर्माणको काम भइरहेको छ । नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै छ । परिवारमा कम सदस्य हुनेलाई बालबालिकाले सहयोग गरिरहेका छन् । विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको स्थानीयवासी विनोद विष्टले बताए ।
उनका अनुसार गाउँमा केही योजना आएको बेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै बालबालिकाको बिदाको समय कुर्नुपर्छ । “घरमा कम सदस्य हुनेले त वस्तुभाउलाई पानी खुवाउने मान्छे पनि पाउँदैनन् । त्यसो हुँदा काम गर्न सकिँदैन”, उनी भन्छन । बालबालिकाको बिदाको दिनमा भने घरको काममा बाधा नहुने उनले बताए ।
गएको शनिबार पनि तीन÷चार जना बालबालिका घर नजिकै गिट्टी कुटिरहेका थिए । बिदाको दिनमा वस्तुभाउलाई घाँस, पानी खुवाउने र बाँकी समय गिट्टी कुट्ने गरेको पाँच कक्षामा अध्ययनरत विपना खड्काले बताइन् । “सधैँ विद्यालयमै हुन्छौँ,” उनले भनिन्, “आजभोलि गाउँमा कुलोको पनि योजना आएको हुँदा घरका सबै त्यतै काम गर्न जानुहुन्छ । बिदाको दिनमा हामी पनि सहयोग गर्छौं ।”
उनले घरको वस्तुभाउको घाँसपातको काम गरेर बिदाको दिनमा दैनिक एक÷डेढ कट्टा गिट्टी फुटाउने गरेको बताइन् । विपनाले बिदाकै दिनमा काम गरेर यसै महिना रु एक हजार एक सय जम्मा गरेको सुनाइन् । “एक कट्टा गिट्टीको एक सय रूपैयाँ पर्छ । मैले त एक दिन दुई कट्टा पनि बनाएकी छु ।” विद्यालय खुलेको समय पढ्ने र बाँकी समय घरायसी काममा सहयोग गर्ने गरेको उनले बताइन् ।
भैरवनाथमा ४ कक्षामा अध्ययनरत रोहन विष्ट पनि घरमा खाली बस्नुभन्दा छिमेकी दिदीसँगै गिट्टी कुट्न आएको बताउँछन् । “नहरको काम गर्न आमा जानुहुन्छ । म गाईवस्तुलाई घाँस पानी दिएर गिट्टी कुट्न आएको हुँ ।” गिट्टी कुटेको पैसाले घरमा नुन÷तेल, आफ्नो कापी कलम किन्ने गरेको उनले बताए ।
नहरमा मात्रै होइन, हरेक कामका लागि पनि ठूला मान्छे (उमेर पुगेका) लाई मात्रै लगाइन्छ । रोहन भन्छन्, “हामी सानो मान्छेलाई काम गर्न गए पनि पैसा दिँदैनन् । त्यसैले जाँदैनौँ । बरू एक कट्टा गिट्टी कुटे त्यसको पैसा आउँछ ।”
नहरमा काम गर्दै गरेका भरत विष्टले पनि परिवारमा बालबालिका हुँदा निकै सहयोग हुने गरेको बताए । “बालबालिकालाई श्रम सिकाउन पनि काममा लगाउनैपर्छ । चाहे त्यसले जति ठूलो सानो काम गरोस् । नत्र उसले केही सिक्दैन”, उनले भने ।
भरतका अनुसार बालबालिकालाई विद्यालयको समयमा छुटाउने होइन । “गृहकार्यमा पनि आफूले सघाउने हो । बाँकी समय भने घरायसी काम सिकाउँदा राम्रो हुन्छ ।” बालबालिकामै सिकाए मात्रै पछि काम लाग्ने उनले बताए ।
“बालबालिकालाई श्रम, श्रमको महत्त्व, पारिवारिक स्थिति, भविष्यमा आइपर्ने हरेक समस्याको बारेमा जानकारी दिइरहनुपर्छ”, भरत भन्छन, “अहिले कतिपय युवायुवतीलाई नै सामान्य घरायसी काम गर्न आउँदैन । खाना पकाउन आउँदैन । पानी पँधेराको काम आउँदैन । हाम्रा बालबालिकाहरूले त अहिले नै सिकिसके ।”
भरतले बालबालिकाको भविष्यमा जति बेलामा पनि काम लाग्ने, आफूलाई पनि सहयोग मिल्ने भन्दै श्रम सिकाएको बताए । “भोलि सबैले सरकारी जागिर खान्छन् भन्ने पनि हुँदैन, सबैलाई पुग्ने हाम्रो देशमा जागिर पनि छैन”, उनले भने, “त्यसैले जुनसुकै सीप सिकाउँदा पनि काम लाग्छ । भोलि उसले गरोस् या नगरोस् । आइपरेमा गरेर खान सक्छ । भोको बस्नु त पर्दैन । काम जे सिके पनि खण (खेर) जाँदैन ।”
रासस