महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गरेकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेख्नुभएको छ ।
कम उमेरमै विद्यावारिधिमा अनुसन्धानरत (नेपाली शिक्षा) रहेकी २६ वर्षीया उनले दुई वर्षमा आठवटा पुस्तक लेखिसकेकोे बताइन । केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट स्वर्ण पदक समेत प्राप्त गरेकी जोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताइन ।
सामान्य पारिवारिक अवस्थाकी जोशीले ‘नेपाली भाषा शिक्षा’ सहलेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिए । अहिले उहाँको ‘सामाजिक संस्था र प्रक्रियाहरुको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन हुन्छ । जोशीले भनिन, “ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टीबापत पारिश्रमिक मिल्छ ।”
उनले लेख्नुभएको ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमेष्टरमा अध्यापन हुन्छ । अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाएकी छन । उनी प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल थिइन । सुदूरपश्चिम विश्वविद्यालयबाट चारवटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाइन । “ ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जिते ”, उनले भनिन, “कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिए ।”
अध्ययनमा अब्बल उनले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरु आएको जानकारी दिए । “जागिरको अफर आएको थियो”, जोशीले भनिन, “अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।” नेपाली सेनाको जम्दार पदबाट सेवानिवृत्त बुवा र गृहिणी आमाकी छोरी उनले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेकी थिइन ।
भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा (सहलेखन २०७९), नेपाली भाषा र साहित्य शिक्षण (सहलेखन २०७९) प्राज्ञिक लेखन (एकल २०७९), भाषा सञ्चार र प्रविधि (एकल २०७९)सहित आधा दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् । जोशीका नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोकसाहित्यलगायत क्षेत्रमा अनुसन्धात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरु तथा साहित्य विषयक लेखहरु प्रकाशित छन् । विश्वविद्यालयको दीक्षान्त समारोमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठजना दीक्षित भएकामा दुई छात्रा र छ छात्र थिए ।