कैलाली । चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
पछिल्ला तीन वर्षदेखि वर्षेनि हुँदै आएको चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधाहरुमा अवार्ड वितरण गरिने भएको छ ।
वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिम आईकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने मञ्चका अध्यक्ष प्रदीप पाठकले बताए । उनका अनुसार लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन(तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ।
वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ।