कैलाली । कैलालीमा कांग्रेस कार्यकर्ताद्धारा बिहीवार कैलारी गाउँपालिका घेराउ गरियो । टुक्रे योजनालाई बजेट र वडा कार्यालयलाई बढी प्रशासनिक खर्च माग्दै कैलालीमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टी नेतृत्वको सरकार रहेको पालिका घेराउ गरेका हुन् ।
कांग्रेसको एकलौटी सरकार रहेको कैलारीमा जनप्रतिनिधिलाई दबाब दिने उद्देश्यका साथ बिहीबार कार्यालय घेराउ गरेका हुन् । गत विगतजस्तै बजेट विनियोजन हुँदा जनताको काम गर्न गाह्रो भएको र सुशासनको पनि कमी भएकाले खबरदारीका लागि कांग्रेसका नेता, कार्यकर्ताले गाउँपालिकामा गएर दबाब सिर्जना गरेको एक स्थानियले बताए ।
उनका अनुसार कांग्रेस कैलारी गाउँपालिकाका सभापति कृष्ण चौधरीको नेतृत्वमा गएको कांग्रेस नेता कार्यकर्ताहरूले आफ्नै पार्टीको सरकारलाई खबरदारीका लागि गाउँपालिकाको कार्यालय गएका हुन ।
यद्यपि, गाउँपालिकाको कार्यालय पुगेको भिडले नाराबाजीसमेत गरेको थियो । आक्रोशित भिडले गाउँपालिकाका अध्यक्षको कार्यकक्ष घेराउ गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । तर, त्यस्तो नाराबाजी कांग्रेस कार्यकर्तालेभन्दा पनि स्थानीय सरकार विरोधीहरूले घुसपैठ गरेर गरेको सो गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा ७ का वडा अध्यक्ष दीपेन्द्र बमे जिकिर गरे ।
नयाँ ढङ्गले काम गर्न कार्यकर्ताहरूबाट जनप्रतिनिधिलाई सुझाव आएको प्रवक्ता बमले बताए । उनका अनुसार वडालाई डामाशाहीका हिसाबले डल्लो बजेट दिनुपर्ने माग गरिएको थियो । यसैगरी, भूगोलको हिसाबले ठुलो वडालाई प्रशासनिक खर्च पनि बढी उपलब्ध गराउन माग गरिएको छ ।