महेन्द्रनगर । छोरा जन्मिएको भन्दै नसालु मिष्ठान खुवाएर कञ्चनपुरको एक घरमा गरगहनासहित नगद चोरी भएको छ । बिहीवार जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरियामा चोरी भएको हो ।
दुई दिन अघि गोबरियाको खगेश्वरी प्वालीको कोठा भाडामा लिएर बसेका भारतिय नागरिकले भारतमा रहेको घरमा छोरा भएको भन्दै खुसियालीमा परिवारका सदस्यलाई नशालु पदार्थ सेवन गराएर चोरी भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।
उनका अनुसार पेयपदार्थ सेवन पछि खगेश्वरीसहित परिवारका ८ जना बेहोस भएका थिए । बेहोस भएपछि १० आनाको तिलहरीसहित नगद चोरी भएको प्रहरीले जनाएको छ । बेहोस भएका परिवारका सदस्यरुलाई अहिले उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
चोरीमा संलग्नको खोजी भइरहेको छ ।