बाजुरा । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली जगानाथ बूढीनन्दा र स्वामिकार्तिक स्थानीय निकायमा उत्पादन गरिएको स्याउ बारीमै थन्किएको छ । यहाँका किसानको स्याउ बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना भएपनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा त्यो स्याउ बारीमै थन्किएको हो ।
जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ मा बारीमा स्याउ लटरम्म पाकेको पाकेको छन् । तर प्रत्येक वर्ष स्याउ पाकेको समयमा बाटो बन्द हुनाले यहाँका किसानलाई स्याउ बिक्री गर्न निकै समस्या हुने गरेको छ ।
हिमाली, स्वामिकार्तिक, जगनाथ र बूढीनन्दा लगायतका किसानको भदौ दोस्रो सातादेखि नै बारीमा स्याउ पाक्न सुरु हुन्छ । तर नजिकमा बजार नभएपछि त्यो स्याउ बिक्रीका लागि देशका अन्य सहरमा लिनु परेको स्थानीय बताउछन् । टाढा लैजान बाटो बन्द छ, अहिलेसम्म सडक सञ्चाल भएको छैन । भरिया द्वारा ढुवानी गरी बिक्री गर्न लैजाने हाे भने भने मूल्य बढी लिनुपर्ने हुन्छ ।
मार्तडी कोल्टी सडकको बीचबीचमा गएको पहिरोले लामो समयसम्म बाटो बन्द भएको छ । यो बाटो समयमै सुचारु भएन भने जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्याउ किसानलाई स्याउ बारीमै कुहिने चिन्ताले समस्या बढाएको छ । बाजुराको दुरदराजमा अर्गानिक स्याउ पाकेपनि समयमै बजारसम्म पुर्याउन नसक्दा केही स्याउ बारीमै कुहिएर जाने गरेपछि वर्षेनी निकै घाटा व्यहोर्नुपरेको स्याउ किसानहरु बताउछन् ।
बाजुराका स्याउ किसानको बारीदेखि बजारसम्म ढुवानी गर्नका लागि कार्टुन सहित अनुदानको समेत व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रशाद जैशीले बताए।
बाजुरामा १७० हेक्टर जमिनमा झण्डै एक हजार २० मेट्रिक टन उत्पादन हुन्छ । स्थानीय, फुजी, गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताउनुभयो । यता मार्तडी कोल्टी सकड सुचारु गर्ने गरी एक हप्ता पहिले नै काम सुरु गरेको हो । पानी परेको कारण बाटो मर्मत गर्न समस्या भएको छ ।