महेन्द्रनगर । कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित ब्रह्मदेव टनकपुरलाई धार्मिक नाकाको रूपमा सञ्चालन गराउनुपर्नेमा जोड दिएका छन् ।
आइतबार सिद्धनाथ मन्दिर संरक्षण समितिले आयोजना गरेको छलफल कार्यक्रममा कञ्चनपुरका सरोकारवालाले ‘टनकपुर–ब्रम्हदेब’लाई धार्मिक नाकाकै रुपमा संचालनमा ल्याउनु पर्ने बताएका छन् ।
विगत लामो समयदेखि चलिआई रहेको परम्परा अनुसार उत्तराखण्डको पुर्णागिरी मन्दिर र कञ्चनपुरको सिद्धनाथ मन्दिरबिच धार्मिक आस्था एवम् महत्त्वपूर्ण सम्बन्ध स्थापित भएको किंवदन्ती रहेको स्थानीयले बताए । पुर्णागिरीमा दर्शन गरिसकेपछि सिद्धनाथ मन्दिरको दर्शन गर्न अनिवार्य भएको नत्र पूजा सफल नहुने भन्ने किंवदन्ती अनुसार भारतीय तिर्थालुहरु पनि सिद्धनाथ मन्दिरमा आउने गरेका छन् ।
पैदल यात्री र २ पाङग्रे सवारी साधनलाई मात्र नेपाल आउन दिने प्रावधानले कतिपय तिर्थालुहरु फर्किएर जाने गरेका छन् । अहिले ब्रह्मदेव बजारमा खासै व्यापार पनि नहुने र भारतीय पर्यटकहरू पनि नआउने भएपछि अहिले स्थानीय व्यापारीहरू मारमा परेको सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष नारायण सिंह महताले बताए ।