सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटाको ‘शेषचन्द्र’ लाई तालिम


पश्चिम प्रेस
आइतबार, माघ १४ २०८०
  • 498
    Shares

  • images
    images
    शुक्लाफाँटाको ‘शेषचन्द्र’ लाई तालिम

    महेन्द्रनगर । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोस्टमा अढाई वर्षको भाले हात्ती शेषचन्द्र गज तालिम प्राप्त भएको छ ।
     एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको शेषचन्द्र गजलाई गत पुसदेखी तालिम दिन थालिएको हो । शनिवार शेषचन्द्र तालिम प्राप्त भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराइले निकुञ्जमा हात्तिलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तिलाई तालिम प्राप्त बनाएको बताए । “शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकहरुलाई निकुञ्ज भ्रमण गराउन हात्तिको प्रयोग हुदै आएको छ ।” उनले भने–“हात्तिलाई परिचलान गर्न एक महिना अघिदेखी सुरु गरिएको तालिम आज समापन भएको छ ।” उनले हाल निकुञ्जमा दुई वटा बच्चा गरि आठ वटा हात्ति रहेको बताए । 
     तालिमको सुरुवातका बेला वयस्क हात्तीको सहारामा जंगलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्र रूपमा हिँडडुल गरिरहेका हात्तीलाई इसारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ । शेषचन्द्रलाई नियन्त्रित रूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका दरौगा शिवदत्त चौधरीले जानकारी दिए । 
     “हात्तीलाई तालिम दिनुभन्दा अघि एउटा खम्बा तयार पारिन्छ । त्यसलाई खमारा भनिन्छ ।” चौधरीले भने–“खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाइ र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । जसले हात्तीलाई तालिम दिने हो, उसैले पूजा गर्नुपर्छ ।” चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ । 
     “हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ ।” उनले भने–“दिनमा जंगल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ ।” हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । “जबसम्म बहकियाको भनेको टेर्दर्नै तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन राति सुत्न पनि दिँइदैन ।” चौधरीले भने–“कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।” 
     चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै साहारामा हात्तिमाथि बसेर पनि तालिम दिइन्छ । “दुई हात्तीको बिचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ वयस्क हात्तीलाई हिँडाइन्छ ।” उनले भने–“उकालो ओरालो र पानी सबै ठाउँमा हिँड्न सक्ने गरी तालिम दिइन्छ, तालिमका बेलामा निडर बनाउन आगो देखाउने, गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ ।”  हात्तीलाई दुईदेखि साढे तीन वर्षभित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुन सक्छ । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठ मात्रै छन । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोस्टमा हात्ती राखिएको छ ।


  • सम्बन्धित विषय:

  • # शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
  • प्रतिक्रिया दिनुहोस