बाजुरा । बाजुराको विभिन्न स्थानमा मंगलबार साँझ आएको भीषण हावाहुरी, वर्षा र चट्याङका कारण ठूलो धनमालको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्राकृतिक विपत्तिका कारण १६ वटा भेडाबाख्रा मरेका छन् भने ३८ वटा बेपत्ता भएका छन्। जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने जगन्नाथ गाउँपालिका–२, माथिल्लो हुनीस्थित वनमा चराउन लगिएका चौपायाहरू घर फर्काउने क्रममा परेको चट्याङ र पहिरोमा परेर सो परिमाणमा क्षति भएको हो।
प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार जगन्नाथ गाउँपालिका–२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु भएको छ भने नौवटा बेपत्ता छन्। सोही स्थानका अमृत ल्वारका तीनवटा भेडा पहिरोमा परी मरेका र १४ वटा बेपत्ता भएका छन्। भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका अन्य स्थानीय किसानका पाँचवटा भेडाको मृत्यु र १० वटा बेपत्ता हुनुका साथै ऐनबहादुर विष्टका तीनवटा भेडा मरेका र पाँचवटा बाख्रा बेपत्ता भएका छन्। यस्तै, त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लाग्दा तीनवटा भेडाबाख्रा मरेका छन्।
प्राकृतिक प्रकोपले पशुचौपाया मात्र नभई भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। खप्तड छेडेदह गाउँपालिका–१ काँडामा स्थानीय वीरे रावलले सञ्चालन गरेको काठ र जस्तापाताले बनेको पसल तीव्र हावाहुरीले उडाउँदा लत्ताकपडा र सिलाउने मेसिनमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। यस्तै, हुरीबतास र असिनापानीका कारण किसानको पाकेको गहुँ बालीमा समेत गम्भीर क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले उल्लेख गरेको छ। हाल प्रहरी चौकी कुन्ना, बडीमालिका र काँडाबाट खटिएको प्रहरी टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको प्रवक्ता शाहीले जानकारी दिएका छन्।
.gif)