धनगढी । तथ्यहीन, एकपक्षीय तथा भ्रामक समाचार प्रकाशित गरी आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आँच पुर्याइएको भन्दै अशोक पाण्डेयले प्रेसमिटमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन ।
मिति २०८३/०५/११ गते प्रकाशित “धनगढीको टाटा मोटर्सले किस्ता बुझाउँदा पनि गाडी जफत गरेको पाइयो” शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै आयोजित प्रेसमिटमा समाचारमा घटनालाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको तथा महत्वपूर्ण तथ्यहरू समेट्न नसकिएको दाबी गरिएको हो।
प्रेसमिटमा सम्बन्धित गाडी अशोक पाण्डेयको व्यक्तिगत नाममा नरहेको स्पष्ट पारिएको छ। गाडी कम्पनीको नाममा रहेको र त्यसको स्वामित्व तथा दर्तासम्बन्धी विवरण आधिकारिक कागजातबाट पुष्टि गर्न सकिने जनाइएको छ। समाचारमा अशोक पाण्डेयको नाम र व्यक्तिगत तस्बिर प्रयोग गरी उहाँलाई गाडीको व्यक्तिगत मालिकका रूपमा बुझिने गरी प्रस्तुत गरिएको भन्दै आपत्ति जनाइएको छ।
त्यस्तै, “नियमित किस्ता बुझाउँदा पनि गाडी जफत” भन्ने समाचारको शीर्षकले घटनाको वास्तविक अवस्थाभन्दा फरक सन्देश प्रवाह गरेको प्रेसमिटमा बताइएको छ। सम्बन्धित ग्राहक नरेश चौधरीले करारबमोजिमको किस्ता समयमा भुक्तानी नगरेको अवस्थामा सम्झौताअनुसार गाडी नियन्त्रणमा लिइएको र त्यसपछि मात्र बाँकी रकम भुक्तानी गरिएको अझै किस्ता रकम लिन बाँकी रहेको प्रेसमिटमा बताएको छ ।
उक्त प्रेसमिटमा ग्राहक नरेश चौधरी समेत उपस्थित भई आफूले पैसा दिन बाँकी रहेको र अब पैसा दिएर मात्र गाडी लिने विषय बताएका छन्। साथै केही व्यक्तिहरूको उक्साहट र दबाबमा परेर उनीले पत्रकारलाई गलत जानकारी दिईएको बताएका छन् ।
ग्राहकबाट प्राप्त चेकसमेत बैंकमा पेश गरी नसाटिएको अवस्थामा सुरक्षित रहेको जानकारी दिँदै प्रेसमिटमा उक्त विषयले घटनाको वास्तविक वित्तीय अवस्था बुझ्न महत्वपूर्ण भूमिका खेल्ने भए पनि समाचारमा समेटिन नसकेको बताइएको छ।
सम्बन्धित गाडी GARS Trading Concern वा सम्बन्धित Tata Motors Showroom बाट बिक्री गरिएको भन्ने आरोपसमेत अस्वीकार गरिएको छ। गाडी बिक्री गरिएको प्रमाण भए सार्वजनिक गर्न प्रेसमिटमार्फत चुनौतीसमेत दिइएको छ।
यसैगरी, अशोक पाण्डेयले ग्राहकलाई धम्की दिएको तथा “CDO, SP लगायतका सुरक्षा निकायलाई हातमा राखेको” भन्ने प्रकृतिको आरोप पनि पूर्ण रूपमा अस्वीकार गरिएको छ। त्यस्तो आरोप पुष्टि गर्ने अडियो, भिडियो, सन्देश वा अन्य प्रमाण भए सार्वजनिक गर्न प्रेसमिटमार्फत आग्रह गरिएको छ।
प्रेसमिटमा समाचार प्रकाशनअघि सम्बन्धित पक्षको आधिकारिक धारणा लिने तथा उपलब्ध कागजात परीक्षण गर्ने पर्याप्त प्रयास नगरिएको भन्दै पत्रकारिताको निष्पक्षतामाथिसमेत प्रश्न उठाइएको छ। एक पक्षको दाबीलाई मात्र आधार बनाएर समाचार प्रकाशन गर्दा व्यक्ति तथा संस्थाको प्रतिष्ठामा असर पुग्न सक्ने धारणा व्यक्त गरिएको छ।
अशोक पाण्डेयको व्यक्तिगत तस्बिरलाई अपुष्ट तथा गम्भीर आरोपसँग जोडेर प्रकाशित तथा सामाजिक सञ्जालमा पुनःप्रसारित गरिएको भन्दै त्यसबाट व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा थप असर परेको प्रेसमिटमा बताइएको छ।
प्रेसमिटमार्फत सम्बन्धित सञ्चारमाध्यमलाई समाचारका तथ्य पुनः परीक्षण गरी आवश्यक सुधार तथा खण्डन प्रकाशित गर्न, व्यक्तिगत तस्बिर हटाउन र सम्बन्धित पक्षको आधिकारिक धारणा समेत सार्वजनिक गर्न आग्रह गरिएको छ।
प्रेसमिटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने तर पत्रकारिताको नाममा प्रमाण र सम्बन्धित पक्षको धारणा नलिई एकपक्षीय आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुनेमा जोड दिइएको छ ।
.gif)