महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई स्पष्टीकरण सोधिएको छ । कार्यालयका कर्मचारीलाई आफ्नो व्यक्तिगत काममा लगाएपछि बोहरालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्पष्टीकरण सोधेको हो ।
बोहराले जिल्ला समन्वय समिति कञ्चनपुरका सवारी चालक देव महतालाई आफ्नो कार चलाउन लगाउने र कार्यालयको काम भन्दा आफ्नो काममा चालकलाई पठाउने गरेको पाइएको हो । यस्तै केही दिन अघि सवारी चालक महतालाई नियम विपरीत पोखरा लगिएको र पछि कार्यालयमा सोधपुछ गर्दा बिदा लिएर गएको बताएका थिए ।
यस्तै केही दिन अघि बोहराले चालक महतोलाई आफ्नो पसल स्टुडेन्ट प्वाइन्टको सामान किन्न र ल्याउन भारत नै पठाइएको थियो । यसरी संविधानको नियम विपरीत आफू खुसी सरकारी सेवामा कार्यरत कर्मचारीलाई व्यक्तिगत काममा लगाउने गरेको पाइएको हो ।
काँग्रेसका नेता बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ४ मा वडा सदस्य जितेर समन्वय प्रमुख भएका हुन् । उनी त्यस अघि २०४९ मा भीमदत्त नगरपालिका ४ को वडा अध्यक्ष भएका थिए ।

.gif)