कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा परेको उजुरी फिर्ता लिइएको छ । मन्त्री साउद विरुद्ध कैलाली प्रहरीमा एक जनाले ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दर्ता गराएका थिए।
बझाङको बुँगल नगरपालिका–१ का धनबहादुर बोहराले आफूले रामारोसन गाउपालिका–६ का विरबहादुर साउदको छोरा ४३ वर्षीय झपटबहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनी रुपैयाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गराएका थिए।
बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। तर आज बोहराले आफ्नो र मन्त्री साउदको कुरा मिलेको भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लिन आएको कैलाली प्रहरीले जनाएको छ ।
‘मन्त्री ज्यू र मेरो कुरा मिलिसक्यो, यसो सामान्य मन मुटाव भएको हो निवेदन फिर्ता पाउँ भनेर बोहरा आफै प्रहरीमा आइपुगेका छन्।’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता कुलदिप चन्दले भने।
दुवै पक्षबिच विवाद मिलिसकेको प्रहरीले जनाएको छ। बिहान मन्त्री साउद समेत प्रहरीमा पुगेका थिए। मन्त्री साउदले पनि उनीसँग कुनै लेनदेन नै नभएको बताउँदै आएका थिए।
.gif)