मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैजनाथधाम सहाराविहीन ज्येष्ठ नागरिकको सहारा


पश्चिम प्रेस
शनिबार, माघ २० २०८०
  • 415
    Shares

  • images
    images
    बैजनाथधाम सहाराविहीन ज्येष्ठ नागरिकको सहारा

    महेन्द्रनगर । चुरे फेदीको धार्मिक पर्यटकीय क्षेत्र बेदकोट नगरपालिका–७ रौटेलास्थित बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्र सहाराविहीन ज्येष्ठ नागरिकको सहारा बनेको छ । 
    दुई दशकदेखि सञ्चालन हुँदै आएको यस केन्द्रमा हाल १७ जना ज्येष्ठ नागरिक बस्दै आउनुभएको छ । जसमा छ पुरुष र ११ महिला हुनुहुन्छ । केन्द्रमा बस्ने सहाराविहीन ज्येष्ठ नागरिक डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ, वीरगञ्जलगायत क्षेत्रबाट आउनुभएको हो । ज्येष्ठ नागरिकको सम्पूर्ण खर्च केन्द्रले मिलाउँदै आएको छ भने अपुग सामग्री दाताबाट प्राप्त हुने गरेको छ ।  “बेदकोट नगरपालिकाले प्रतिवर्ष रु चार लाखका दरले अनुदान रकम दिँदै आएको छ”, केन्द्रका अध्यक्ष लालबहादुर खड्काले भने, “सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विगतमा केही रकम अनुदानका रूपमा दिँदै आएको थियो, अहिले रोकिएको छ ।” दुवै निकायबाट प्राप्त हुने अनुदान रकमबाट विगतमा ज्येष्ठ नागरिकलाई बस्नका लागि तीनवटा भवन, पर्खालसँगै एक शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो । यस वर्ष नगरपालिकाले उपलव्ध गराएको रकमबाट पुरानो भवनको छत मर्मत गरिएको उहाँले जानकारी दिए । 

    उनका अनुसार स्थानीय समाजसेवीको सहयोगमा केन्द्रको परिसर, नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको प्राविधिक सहयोगमा भान्साघर, मिनीपार्क, नेपालको नक्सा, गेट निर्माण भइरहेको छ । अनुदानबाट प्राप्त हुने रकमले भौतिक पूर्वाधार निर्माण, मर्मतसँगै ज्येष्ठ नागरिकका लागि दैनिक आवश्यकीय खाद्य सामग्री र अन्य सामग्रीको व्यवस्था मिलाइँदै आएको अध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले बताए। “केन्द्रमा बस्दै आउनुभएका ज्येष्ठ नागरिकलाई अपुग भएको सामानका लागि दातालाई गुहार्ने गरेका छौँ”, केन्द्रको व्यवस्थापनमा जुट्नुभएका बहादुरसिंह विष्टले भने, “कुनै सामानको अभाव भए दातालाई गुहार्छौँ, दाताले सहयोग गर्ने भएकाले कुनै अप्ठ्यारो भने भएको छैन ।” नेपाली सेनाबाट सेवानिवृत्त विष्ट ज्येष्ठ नागरिकको सेवासत्कारमा डेढ दशकदेखि खट्दै आउनुभएको छ । ज्येष्ठ नागरिकलाई बिहान नुहाइदिने कार्यसँगै खाना बनाउने, खुवाउने, स्याहारसुसार गर्ने काममा सघाउ पुर्याउँदै आएको छ । 
    “ज्येष्ठ नागरिकले एकापसमा दुःख, सुख साटासाट गरी मन हलुका गर्छन्”, विष्टले भने, “रमाइलो वातावरण भएकाले सहजरूपमा बस्दै आएका छन् ।” ज्येष्ठ नागरिककै रोजाइमा खानपानको व्यवस्थापनको कार्य हुँदै आएको उनको भनाइ छ । पर्यटकीय क्षेत्र भएकाले वनभोज खान आउने स्कुले विद्यार्थीलगायतसँग समेत ज्येष्ठ नागरिकले भलाकुसारी गर्न पाउँदा निकै आनन्दित हुने गरेका छन् । केन्द्र विसं २०५७ मा स्थापना भएको हो ।
    रासस


  • सम्बन्धित विषय:

  • # बैजनाथधाम
  • प्रतिक्रिया दिनुहोस