महेन्द्रनगर । वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आर्थिक सङ्कलनका लागि आफ्नो पुस्तक बिक्री गर्ने क्रममा २९ औँ दिनमा कञ्चनपुर आइपुगेका छन् ।
सामान्य परिवारमा जन्मेका पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उनी सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्ला हुँदै कञ्चनपुर आइपुगेका हुन । सोमवार बिहानैदेखि उनले किताब बिक्री गर्ने कार्यलाई अगाडी बढाएका छन् । उनले बिहान ८ बजेदेखि महेन्द्रनगरस्थित पुष्पलाल चोकदेखि किताब बिक्री गर्ने कार्य अघि बढाएका हुन् ।
कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष्य अनुरूप उनी मेची–महाकाली महाअभियान छन्।
उनले यो अभियानका क्रममा ३४ हजार बढी पुस्तक बिक्री भइसकेको जानकारी दिए। पुस्तक बिक्रीबापत आएको पैसा उनले कृषि औजार कारखाना सञ्चालनमा लगानी गर्ने बताए। सो कारखाना सञ्चालन गर्न पुनको टोली सक्रिय रूपमा लागिपरेको छ ।
हातमा पुस्तक समातेर ‘ल आयो है महापुन पुन आयो तपाईको घर दैलोमा आयो’ भन्दै चोक चोकमा गएर पुस्तक बेचिरहेका छन्।
कृषि औजार कारखाना सञ्चालनका लागि पैसा अत्यावश्यक भएकाले हात हात किताब बिक्री गर्दै हिँड्नु परेको उनले बताए। कृषि औजार कारखाना सञ्चालनमा ल्याई नेपालका ग्रामीण क्षेत्रका किसानको हातमा कृषि औजार पठाउने लक्ष्य उनको छ । चीन र भारतबाट जे जति मात्रामा अहिले कृषि औजार आयात भइरहेको छ, त्यसको १० प्रतिशत स्वदेशमै उत्पादन गर्न सकिने उनको दाबी छ ।
डा. पुनले आफ्नो जीवनमा भोगेका समस्या, सङ्घर्ष तथा सफलताको कथा समेटेर गत असोजमा ‘महावीर पुन’ नामक आत्मकथा प्रकाशन गरेका थिए।
.gif)