मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बेहुली नबन्दै अस्ताइन रन्जु, विवाहको अघिल्लो दिन अर्नाले लियो ज्यान


पश्चिम प्रेस
बुधबार, माघ २४ २०८०
  • 775
    Shares

  • images
    images
    बेहुली नबन्दै अस्ताइन रन्जु, विवाहको अघिल्लो दिन अर्नाले लियो ज्यान
    सुनसरी । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए । 
     
    मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो । 
     
    सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउने क्रम सुरु भइसकेको थियो । 
     
    छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो । 
     
    गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए। तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ । 
     
    गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो । रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ । गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ । 
     
    घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए।
     
    घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो । बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो । 
     
    पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ । 
     
    आर्थिक वर्ष २०७०र७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ । अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ ।


  • सम्बन्धित विषय:

  • # अर्नाले लियो ज्यान
  • प्रतिक्रिया दिनुहोस