बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका–१ घारडामा जिप दुर्घटना भएको हो । सु.प.प्र.०१०००१ च ३१४६ नम्बरको जिप दुर्घटनामा डिलाशैनी गाउँपालिका–१ धावलाका ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको छ ।
कच्ची सडकमा जिप पल्टिँदा १३ जना सवार जिप दुर्घटनामा परेको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । बुधबार मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो पौने २ बजेतिर जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् । दुर्घटनामा डिलाशैनी गाउँपालिका–१ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा घाइते भएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए । उनीहरु सबैको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिप चालक डिलाशैनी गाउँपालिका–६ बागगोठका धनबहादुर कठायत फरार रहेका बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)