महेन्द्रनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम बजेट अभावका कारण प्रभावित भएको छ । राष्ट्रिय गौरवको आयोजना भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा आयोजनाको काम प्रभावित बनेको हो । मुआब्जा वितरण र विकास खर्चको बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको महाकाली सिचाँइ आयोजनाको कार्यालय महेन्द्रनगरले जनाएको छ ।
आयोजना निर्देशक कुसाङ शेर्पाले माग गरेभन्दा निकै कम बजेट आएका कारण अहिले जमिन अधिग्रहण गर्न समेत समस्या भएको बताए । “विकासतर्फको २० करोड रकम अर्थ मन्त्रालयकै सहमतिमा मुआब्जातर्फ रकमान्तर गरेर जमिन अधिग्रहण गरेका थियौ ।” उनले भने–“२१.६ हेक्टर जमिन अधिग्रहणका गर्न ८७ करोड थप बजेट माग गरेका छौ ।” उनका अनुसार यस वर्ष विकासतर्फ ९९ करोड र मुआब्जाका लागि १२ करोड रुपैयाँ आएको थियो । “बजेट नहुँदा यस वर्ष नयाँ ठेक्का नै गर्न सकेका छैनौ ।” उनले भने–“केहि भागमा आंशिक काम सञ्चालन भइरहेको छ ।” आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष ५ वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ ।
तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन । १९ किमि नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेतीसम्म ७ हजार २ सय रूख कटान गर्नुपर्ने छ । जसका लागि डिभिजन वन कार्यालय हुँदै वन विभागमा फाइल पठाए पनि यसबारे अझै कुनै निर्णय हुन सकेको छैन ।
आर्थिक वर्ष ०६२/०६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ किमि मूल नहर निर्माण भएको छ । मूल नहर निर्माण भएको खण्डमा २२ वटा शाखा नहर निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ । डेढ दशकसम्म पनि आयोजनाको काम पुरा नहुँदा यसको औचित्यनै समाप्त हुदै गएको स्थानीयहरुको भनाई छ ।
.gif)