महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा एक युवकको शव नहरमा फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका युवक चन्द्र बहादुर विष्टको शव मङ्गलवार महाकाली सिंचाइ आयोजनाको मूल नहरमा फेला परेको प्रहरीले जनाएको छ ।
पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। सोधपुछका लागि भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
चन्द्रको शव भेटिएको स्थाननजिकै जोशीको किराना पसल र कस्मेटिक पसल छ। त्यसको पछाडि होटलजस्तै बस्न मिल्ने ससाना कोठा बनाइएका छन्।स्थानीयका अनुसार ती कोठामा लागुऔषध तथा जाँडरक्सी खुवाइन्थ्यो। त्यहाँ बियर र रक्सीका बोतल पनि फेला परेका छन्। रक्सी सेवन गर्ने चन्द्र त्यहीँ पसलमा जाने गरेको ती आफन्तको भनाइ छ।
त्यहाँ कोठाको ढोकामाथि सिलिङमा रगतले औँलाको छाप बनेको छ। पर्खालका लागि गाडिएको खम्बामा पनि रगत भेटिएको छ ।
यी प्रमाणहरु भेटिएपछि चन्द्रको हत्या भएको परिवारले आशङ्का गरेको छ । अहिले शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
.gif)