महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले खेलकुद क्षेत्रको विकास एवं विस्तारका लागि पहल गर्ने बताएका छन ।
आईतबार कञ्चनपुर जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको जिल्ला स्तरीय पुरुष डबल्स र जुनियर सिंगल व्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै नेता लेखकले खेल क्षेत्र स्वास्थ्यका निम्ती पनि महत्पवूर्ण रहेको बताउँदै यसको विकासका लागि आफु प्रतिवद्ध रहेको बताए ।
“यहाँ यसअघि पनि खेल सामाग्री देखि अन्य व्यवस्थापनका लागि पनि मैले सहयोग गरेको छु ।” लेखकले भने–“ फेरी पनि खेल क्षेत्रको विकासका लागि पार्टी र व्यक्तिगत रुपमा हातेमालो गर्छु ।”
आगामी असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन समारोहमा संघका अध्यक्ष मीनराज भट्टले व्याडमिन्टन प्रशिक्षक अभाव हुँदा लामो समयदेखि खेलाडी उत्पादन प्रभावित बनिरहेको बताए ।
“व्याडमिन्टन प्रशिक्षक नहुँदा खेलाडीहरु प्रशिक्षणबाट बञ्चित हुनु परेको छ ।” उनले भने–“ प्रतिभावान खेलाडी जन्माएको सुदूर प्रशिक्षक बिहीन हुनु दुखद् हो ।”
त्यसैगरी व्याडमिन्टन प्रतियोगिताका संयोजक शेरबहादुर सिंहले जिल्लामा व्याडमिन्टनको ‘क्रेज’ बढिरहेको बताए । प्रतियोगितामा जुनियरतर्फ २२ जना र सिनियरतर्फ ५८ टिम सहभागिता रहेको उनले जानकारी दिए । पहिलो खेलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत र कर्ण बोहराको टिमले बिजयी सुरुवात गरेको छ । बस्नेत र बोहराको जोडीले हर्क थापा र सुदिपकुमार थापाको जोडीलाई सोझो सेटले पराजित गरेको छ ।
उद्घाटन समारोहमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायधीश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसी, बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्ट लगायतको सहभागिता रहेको थियो ।
.gif)