महेन्द्रनगर । असत्य माथी सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ ।
कैलाली कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइसराइ गरी आउनेहरुको होली भिन्न छ । पछिल्लो समय पहाडी जिल्ला अछाम,बैतडी,दार्चुला र डडेल्धुराबाट तराईमा बसाइसरी आउनेहरुले पनि आ–आफ्नो ढंगले होली मनाउन थालेका छन । यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन भने डडेल्धुराको रुपाली होली भिन्न छ । त्यसैगरी दार्चुला मालिकार्जुनको होली भिन्न तरिकारले मनाउने गरेका छन ।
होली हिन्दुको प्राचीन पर्व हो । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । सुदूरका हरेक बस्तीमा फागुन शुक्ल एकादशीका दिन बाट पाचँ दिनसम्म होली पर्वको रौनक छाउँछ । पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिममा पाँच दिनसम्म होली मनाइने प्रचलन छ ।
होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन । होलीलाई विशेष गरी असत्य माथी सत्यको विजयका रुपमा खुसीयालीका साथ मनाइने गरिन्छ । यस अवसरमा पौराणिक, धार्मिक, राजनैतिक, सामाजिक तथा प्राकृतिक गाथाहरु प्रस्तुत गर्ने गरिन्छ ।
वर्तमान समयमा पश्चिमा सँस्कृतिको आक्रमणमा परेर होली पर्वको मौलिकता हराउन लागेको प्रति पाकापुस्ता चिन्तित बनेका छन । पछिल्लो समय होलीपर्वलाई रंग खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको छ । अहिलेको पुस्ताले रंगहरु खेल्नुलाई मात्रै होलीको रुपमा लिने गरेका छन । होली पर्वको सबैभन्दा ठूलो दिन फागु पूर्णिमामा एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन । होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाईन्छ ।
.gif)