महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ ।
प्रदेशसभा सदस्य ओमविक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।
यस्तै नेकपा (एमाले)ले पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधवार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए। विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए।
प्रमुख सचेतक पालले भने, “केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन ।”
यही जेठ ३ गते बिहीबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनुहुने कार्यसूची छ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएकोमा प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।
.gif)