मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बस्ती भेलाबाट योजना छनौट गर्दै कञ्चनपुरका स्थानीय तह


पश्चिम प्रेस
शुक्रबार, जेठ ११ २०८१
  • 314
    Shares

  • images
    images
    बस्ती भेलाबाट योजना छनौट गर्दै कञ्चनपुरका स्थानीय तह

    महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणको तयारीमा जुटेका छन् । यहाँ रहेका सात नगरपालिका र दुईवटा गाउँपालिका आगामी वर्षको बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट योजना छनोट गर्नमा व्यस्त छन् । योजना छनोटका लागि वडाका जनप्रतिनिधि अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगिरहेका छन् । 

    कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले अहिले बस्तीस्तरमा भेलाबाट योजना छनोट भइरहेका बताए । “समयमै बजेट ल्याउने तयारीसहित अहिले बस्तीस्तरका योजना छनोटका लागि वडामा बस्ती भेला भइरहेका छन्”, उनले भने । 

    भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीले अहिले बस्तीस्तरमा भेलाबाट वडामा योजना छनोट भइरहेको जानकारी दिइन्। “यसपटक केही नमुना काम गर्ने गरी बजेट ल्याउने विषयमा नगरपालिका आन्तरिक तयारीमा लागेको छ”, उनले भनिन्,“शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना छनोटमा ध्यान दिन वडातहलाई भनिसककेका छौँ ।” उनले नगरपालिकाले यसअघि सुरू गरेका योजना पूरा गर्ने गरी यसपटक बजेटको व्यवस्था गर्ने पनि बताइन्।

    यस्तै, दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जेठ १८ गतेभित्र वडास्तरमा भेला सम्पन्न गर्ने गरी वडामा योजना छनोट भइरहेका बताए। उनले विगतका अनुभवबाट सिक्दै बस्ती भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहेका बताइन्। 

    बस्ती भेलामा सहभागीले जनप्रतिनिधिसँग विभिन्न गुनासा राख्ने गरेका छन् । वडावासीले सीपमूलक तालिम, सडक निर्माण, ढल निकास, विद्युत्लगायत समस्या समाधानका विषय उठाउने गरेका जनप्रतिनिधि बताउँछन । 

      स्थानीय सरकार गठनपछि विभिन्न चरणमा योजना छनोट हुने गरेका छन् । वैशाख महिनाभित्र सङ्घ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी मार्गदर्शन प्राप्त गर्ने र दोस्रो चरणमा वैशाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने गरिन्छ । त्यसैगरी जेठभित्र बस्ती तथा टोलस्तरबाट योजना छनोट गरिसक्ने र असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ ।


    प्रतिक्रिया दिनुहोस