शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बस पहिरोमा परेपछि आफन्त चिन्तित


पश्चिम प्रेस
शुक्रबार, असार २९ २०८१
  • 308
    Shares

  • images
    images
    बस पहिरोमा परेपछि आफन्त चिन्तित

    पर्सा । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए । 

    स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताए। “हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासी उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ”, बसपार्कमा भेट्टिएका उनले भने, “काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतिक्षामा छौँ ।” 

    एञ्जल डिलक्स प्रालीका वीरगञ्जका इञ्चार्ज विनोदप्रसाद कलवारले बिहीबार काठमाडौँ प्रस्थान गरेको प्रदेश बसमा चालकसहित २४ जना रहेको बताए। “बसको चलानमा चालक, सहचालक र सहयोगीसहित २४ जना रहेका छन् । हिजो हाँसीखुसी बिदाइ गरेका थियौँ तर पहिरामा परेको सुन्दा निकै दुःखित भएका छौँ ।” 

    कलावारकाअनुसार बसमा १७ नेपाली र सात भारतीय नागरिक रहेका थिए । बस चालक जवाहीर महतो, सहचालक चौधरी थरका एक युवक र अर्को राजकुमार लामिछाने रहेका थिए । बसको चलानीमा पिपराका प्रकाश पटेल, वीरगञ्ज महानगरपालिकाका अरविन्द दुबे, वीरगञ्ज महानगरका हरेन्द्र पण्डित, बारा मुरहरवाका प्रमानन्द पण्डित, पर्साकै विद्यानारायण राउत, रघुनाथपुरका सलिम मियाँ, कटैयाका रैफुल आलम र रामनगरीका थर नखुलेका सुजित भनिने व्यक्ति सवार थिए । 

    भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जि, सुरेन्द्र साह, सुनिल साह र शहनावाज रहेका छन् । अन्सारीका नाममा दुई वटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन ।

    आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस