सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै


पश्चिम प्रेस
सोमबार, असार ३२ २०८१
  • 14.6K
    Shares

  • images
    images
    धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै

    धनगढी ।  कैलालीको धनगढीसहितका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको हो ।

    यस कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन् । कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

    धनगढी उपमहानगरपालिका कार्यालयले सार्वजनिक सूचनामार्फत कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध गरेको छ । उपमहानगर स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीले उक्त कीराले आफ्नो सुरक्षाका लागि निकाल्ने रसायनले मानिसको छाला पोल्ने, छालामा फोका र दाना उठ्ने भई पीडा हुने गरेको बताए । अवस्थीले भने, “यस कीराको सम्पर्कले मानिसको ज्यान जाँदैन तर सम्पर्क हुँदा छाला पोल्ने र घाउ भई पीडा हुन्छ ।”

    खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन अवस्थीले आग्रह गरे । “यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनको सङ्ख्या बढिरहेको छ । सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ”, उनले भने ।


    प्रतिक्रिया दिनुहोस