महेन्द्रनगर । गत असारमा आएको अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति गरेको छ ।
चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन भने भौतिक संरचनामा समेत क्षति गरेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर ४ वटा लघुना र १ चित्तल मरेको अवस्थामा भेटिएको जानकारी दिए । “चौधर नदीको बाढी निकुञ्जपस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन ।” उनले भने–“केहि वन्यजन्तु मरेका अवस्थामा फेला पार्यौ ।” उनका अनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एक दर्जन बढी काठे पुल र पक्की पुल बगाएको छ । “पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ ।” उनले भने–“जसका कारण अनुगमन तथा गस्ती गर्न समेत समस्या भएको छ ।”
यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन । “विगतमा महाकाली नदी निकुञ्ज पस्ने र कटान हुने गथ्र्यो यसपटक महाकालीको बाढी निकुञ्जभित्र आउन पाएन ।” ऐरले भने–“जसले गर्दा शुक्लाफाँटाको बाह्रसिंगाको बासस्थानमा क्षति हुन पाएन ।” बाढीले पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो अवरुद्ध भएको छ । त्यसैगरि बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा समेत क्षति पु¥याएको संरक्षण अधिकृत ऐरले बताए । “कृष्णसार संरक्षित क्षेत्रमा पनि तारबार भत्काएको छ ।” उनले भने–“निकुञ्ज कार्यालयमा समेत बाढीले क्षति गरेको छ ।”निकुञ्ज कार्यालय र निवास समेत डुबानमा परेपछि कार्यालयका फाइलहरुमा समेत क्षति भएको छ ।
.gif)