महेन्द्रनगर । कुनै पनि अवस्थामा विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले संसद्मा सम्बोधन गरेर विश्वासको मत नलिएरै राजीनामा दिने योजना बनाएका छन् ।
१८ गते भित्र उनले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार अन्तिम दिन १८ गते संसद्मा आफ्नो धारणा राखेर राजीनामा दिने मुख्यमन्त्री सोडारीको तयारी छ ।
विश्वासको मत कै लागि भन्दै हिजो नै प्रदेशसभा सचिवालय मुख्यमन्त्री सोडारीले पत्र पठाइसकेका छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ सांसदको मत आवश्यक पर्छ । तर, सोडारीले त्यति मत पाउने कुनै सम्भावना छैन । उनले आफ्नो पार्टीका ४ मत, नेकपा माओवादी केन्द्रको १० मत गरी १४ मत पाउने छन् ।
त्यसबाहेक नागरिक उन्मुक्ति पार्टीका एक सांसद सोडारी नेतृत्वको सरकारमा मन्त्री छन् । अर्का मन्त्रीलाई उनले केही दिन पहिले नै हटाइसकेका छन् । नाउपाले अझै विश्वासको मत दिने वा नदिने निर्णय गरेको छैन । स्वतन्त्र र राप्रपाको पनि कुनै टुङ्गो छैन ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ३ महिना १२ दिन मात्रै सरकारको नेतृत्व गरेर बाहिरिँदै छन् ।
यता मुख्यमन्त्री सोडारी पदमुक्त हुने अघिल्लो दिनसम्म पनि भावी मुख्यमन्त्री को हुने भन्ने टुङ्गो लागिसकेको छैन । सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भए पनि काङ्ग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुङ्गो लागेको छैन ।
.gif)