महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना संक्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मंगलबारदेखि सीमावर्ती बजार वनबासामा रहेको अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो । यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन मात्रै सक्थे भने यही नाकाबाट फर्किन पाउँदैनथे । आवागमन खुला भएपछि सातजना पर्यटक यो नाका भएर भारत प्रवेश गरेको अध्यागमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले जानकारी दिए । “भारतको उत्तराखण्डका विभिन्न पर्यटकिय स्थलमा पुग्ने तेस्रो मुलुकका पर्यटक नेपालमा पनि घुम्न आउँछन ।” उनले भने–“कोरोनापछि भारतले यो नाकाबाट बाहिरिन दिने तर भित्रिन नदिने गरेका कारण तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द भयो ।” भारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई आगमन अनुमति दिन थालेपछि यहाँका पर्यटन व्यवसायि उत्साहि बनेका छन ।
.gif)