सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षा बारे स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक, ७८ वर्ष यताकै ठूलो वर्षा भएको निष्कर्ष


पश्चिम प्रेस
मंगलबार, साउन २२ २०८१
  • 478
    Shares

  • images
    images
    कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षा बारे स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक, ७८ वर्ष यताकै ठूलो वर्षा भएको निष्कर्ष

    महेन्द्रनगर । जल तथा मौसम विज्ञान विभागले यस वर्ष कञ्चनपुरमा भएको भारी वर्षाबारे गरिएको अध्ययनको विवरण सार्वजनिक गरेको छ । जल तथा मौसम विज्ञान विभागले गत असार २४ गते कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा ‘तराई क्लाउडब्रस्ट’ भएर अत्यधिक वर्षा भएको निष्कर्ष निकालेको छ।

    गत असार २३ गते राति २२ः०५ देखि २३ः०५ सम्मको एक घण्टाको अवधिमा हनुमान नगरमा १०२ मिलिमिटर वर्षा मापन भएको छ । एक घन्टाको अवधिमा सय मिलिमिटर वर्षा भएमा ‘क्लाउड ब्रस्ट’ मानिने विभागले जनाएको छ । सामान्यतया यस्तो किसिमको वर्षातलाई ‘हाँडीघोप्टे वर्षा’ भन्ने गरिन्छ ।नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाबारे अध्ययन गरी विभागले सोमबार विवरण सार्वजनिक गरेको हो ।  गत असार २३ र २४ गते २४ घण्टाको अवधिमा कञ्चनपुरमा सर्वाधिक वर्षा (६२४ मिलिमिटर) मापन गरिएको थियो । ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययनका लागि विभागको टोली कञ्चनपुर गएको थियो ।

    टोलीले दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरूको स्थलगत परीक्षण गरेको थियो ।परीक्षणका क्रममा दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था विभागको हालको मापदण्डभित्र रहेको पाइएकाले उक्त केन्द्रबाट प्राप्त तथ्यांक सही रहेको विभागले जनाएको छ । तर सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्यांक विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने देखिएको विभागले जनाएको छ । कञ्चनपुर क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको समिश्रणका कारण अत्यधिक वर्षा भएको विभागको भनाइ छ ।  यी प्रणालीहरुको समिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई तराई क्लाउड मान्न सकिने विभागले जनाएको छ ।  

    विभागका प्रवक्ता सुनिल पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरू बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वानुमान तथा पूर्वतयारी लगायतका उपरोक्त क्षेत्रहरूमा लगानी बढाउँदै जानु आवश्यक देखिन्छ ।’ क्षति न्यूनीकरणमा समयमै प्रवाह गरिएका विशेष बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, मास एसएमएस सेवा तथा पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार कार्यको प्रमुख भूमिका रहेको विभागले बताएको छ ।

     


  • सम्बन्धित विषय:

  • # कञ्चनपुरको ‘रेकर्ड ब्रेक’ वर्षा
  • प्रतिक्रिया दिनुहोस