सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दाजुभाईको दीर्घायुका लागि राना समुदायको तीज


पश्चिम प्रेस
बुधबार, साउन २३ २०८१
  • 589
    Shares

  • images
    images
    दाजुभाईको दीर्घायुका लागि राना समुदायको तीज

     महेन्द्रनगर ।  कैलाली– कञ्चनपुरमा बसोबास गर्ने राना समुदायको प्रमुख पर्व तीज शनिबार हर्षेल्लाषका साथ मनाइएको छ ।
      राना समुदायका महिलाहरूले दाजु भाइ र भतिजाहरुको दीर्घायूको लागि व्रत बसेर तीज मनाउने प्रचलन छ । तीज राना समुदायको महान पर्व हो । हिन्दु धर्मावलम्वीहरुले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहिआएको छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन छ । तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगला लगायतका विशेष परिकारहरू पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरिन्छ ।

    दिदीबहिनीले आफ्ना दाजु भाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै परम्परागत पोषाकमा सजिएर तीज पर्व मनाउने प्रचलन रहि आएको जानकारहरुको भनाई छ । राना थारु समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन । सावनकी डोला (पिङ)मा दिदी बहिनी तथा साथी भाईसँग रमाइलो गरि मनाउने गर्दछन ।

    तीजमा महिलाहरू दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्दछन । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ । रानाथारु महलिाहरुले जतिलामो पानीको धार हुन्छ त्यती नै लामो आफ्नो दाजुभाईको आयुहोस भन्ने कामना गर्दछन ।

    विवाहित महिलाहरू समेत यतिबेला माइतमा आएर रमाईलो गर्ने गर्दछन । राना थारु समुदायको महिलाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै रमाईलो गर्ने गर्छन ।

      छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तीज पर्व पछिल्लो समय नयाँ पुस्ताको समेत रोजाईमा पर्न थालेको र परम्परागत लयमा पुस्तान्तरण भइरहेको पाका पुस्ताको भनाई छ ।

     


  • सम्बन्धित विषय:

  • # राना समुदायको तीज
  • प्रतिक्रिया दिनुहोस