सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

ऐन विपरीत अन्तरपालिका कर उठाउँदै भीमदत्त


पश्चिम प्रेस
सोमबार, साउन २८ २०८१
  • 587
    Shares

  • images
    images
    ऐन विपरीत अन्तरपालिका कर उठाउँदै भीमदत्त

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक ऐन विपरीत कर उठाउने गरेको पाइएको छ ।

    पालिकाले ठेक्का मार्फत नगरपालिकाको आर्थिक ऐन विपरीत कर उठाउन थालेपछि स्थानीय व्यवसायिहरुले विरोध जनाएका छन । पालिकाले बाहिरबाट उत्पादन भएर भीमदत्त नगरपालिका–४ स्थित शब्जी मण्डीमा आउने तरकारीमा कर उठाउने गरेको व्यवसायिहरुले बताएका छन । व्यवसायिहरुका अनुसार जिल्लाको बेदकोट,शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाबाट शब्जीमण्डीमा आउने तरकारीमा नगरपालिकाले कर उठाउन थालेको छ । नगरपालिकाले ठेक्का मार्फत शब्जी मण्डीमा कर उठाउँदै आएको छ ।

    भीमदत्त नगरपालिकाको आर्थिक ऐन २०८१ मा अन्तरपालिका कर संकलनका सम्बन्धमा कुनै व्यवस्था गरेको छैन । पालिकाको आर्थिक ऐनको दफा २० को उपदफा १ सँग सम्बन्धित कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर सम्बन्धी व्यवस्था गरेको छ । 

    स्थानीय उत्पादनलाई प्रोत्साहन गरि बजारीकरण गर्नुको सट्टा भीमदत्त नगरपालिकाले आर्थिक ऐन विपरित अन्य नगरपालिकामा उत्पादन भएको तरकारीमा समेत अवैधानिक रुपमा कर उठाउन थालेको छ ।  नेपालको संविधानमै अन्तरपालिका र प्रदेशका कुनै किसिमको कर संकलन गर्न नपाउने व्यवस्था गरेको छ ।  नेपालको संविधानको अन्तर प्रदेश व्यापार सम्बन्धमा एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तार वा कुनै प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै किसिमको बाधा अवरोध गर्न वा कुनै कर, शुल्क, दस्तुर वा महसूल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी वा विस्तारमा कुनै किसिमको भेदभाव गर्न पाइने छैन भनी व्यवस्था गरेको छ । तर नगरपालिकाले संविधानमा भएको व्यवस्था र आफ्नै आर्थिक ऐन विपरित ठेक्का मार्फत कर संकलन गरिरहेको छ ।

    तर भीमदत्त नगरपालिकाले भने नगरपालिकाको आर्थिक ऐन अनुसार नै ठेक्का मार्फत कर उठाएको दाबी गरेको छ । नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले आर्थिक ऐन अनुसार बाहिर बाट आउने तरकारीमा सेवा शुल्क लिने व्यवस्था बमोजिम ठेक्का मार्फत सेवा शुल्क उठाएको बताउनुभयो ।

    भीमदत्त नगरपालिकाले शब्जीमण्डी क्षेत्रमा करसंकलनका लागि रु ३६ लाखमा राखि कन्ट्रक्सन संग ठेक्का सम्झौता गरेको छ ।

     


  • सम्बन्धित विषय:

  • # अन्तरपालिका कर
  • प्रतिक्रिया दिनुहोस