महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अन्य पालिकाबाट ल्याइने तरकारीमा कर लगाएको भन्दै महेन्द्रनगर स्थित शब्जीमण्डी बन्द गरिएको छ ।
नगरपालिकाको आर्थिक ऐनमा भारत तथा अन्य मुलुकबाट आयात हुने कृषि तथा पशुजन्य वस्तुको आयातमा कर लगाउने उल्लेख भएपनि ठेक्का मार्फत कर संकलन गर्दा किसानबाट तरकारीमा कर उठाएपछि किसान र व्यवसायि आन्दोलित बनेका हुन ।
नगरपालिकाले नगर बाहिरबाट उत्पादन भएर आउने तरकारीमा प्रतिक्विन्टल ३० रुपैयाँ कर संकलन गर्दै आएको छ । ऐनविपरीत नगरपालिकाले जिल्लाकै अन्यपालिका र अन्य जिल्लाबाट ल्याइने तरकारीमा समेत कर लिन थालेपछि व्यवसायीले मंगलबारदेखी महेन्द्रनगरको सब्जीमण्डीका तरकारी पसल बन्द गरेका छन भने किसानले पनि बजारमा तरकारी ल्याएका छैनन । शब्जीमण्डी बन्द हुँदा जिल्ला बाहिरबाट आउने तरकारी समेत बन्द भएको शब्जीमण्डी व्यवसायि संघका अध्यक्ष विशाल सोनारले जानकारी दिए । “नगरपालिकाले स्थानीय उत्पादनमा कर लगाउन थालेपछि हामीले शब्जीमण्डी बन्द गरेका छौ किसानले बजारमा तरकारी ल्याएका छैनन ।” उनले भने–“शब्जीमण्डी बन्द हुँदा जिल्ला बाहिरबाट आउने तरकारी समेत आउन सकेको छैन ।” उनका अनुसार शब्जीमण्डीमा डडेल्धुरा,दाङ,सल्यान,बैतडीको खोड्पे लगायत कञ्चनपुरका अन्य पालिकाबाट तरकारी आयात हुने गरेको छ ।
तरकारी बजार नै बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन । बिहानै तरकारी किन्न शब्जीमण्डी पुगेका सेवाग्राही रित्तोहात फर्केका छन । नगरपालिकाले भने आर्थिक एैन अनुसार नै कर संकलन गरिरहेको दाबी गरेको छ । महेन्द्रनगर र आसपासका बजारमा दैनिक १० टनसम्म तकारी खपत हुने गरेको छ । शब्जीमण्डीमा मात्रै दैनिक करिब ६० लाखको कारोबार हुने गरेको मण्डी व्यवसायि संघले जनाएको छ ।
.gif)