सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

५५ वर्षदेखि सुदूरमा देउडा खेलाउँदै बर्ताेला जोशी


आइतबार, भदौ १६ २०८१
  • 2.4K
    Shares

  • images
    images
    ५५ वर्षदेखि सुदूरमा देउडा खेलाउँदै बर्ताेला जोशी
    महेन्द्रनगर ।   देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन ।
     
    उमेरले ७५ पुगेपनि उहाँको जोस युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मनुभएका उहाँ देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्ने गरेका छन । गौरा पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रमहरु आयोजना गरिएका छन । ती सबै ठाउँमा देउडा खेलाउन पुग्छन रामदत्त जोशी । बैतडीका देउडा कार्यक्रममा सहभागी भएर उहाँ देउडा खेल्नकै लागि बैतडीको ग्वाल्लेकबाट महेन्द्रनगर पुगेका छन । देउडा खेलाउन माहिर जोशी सम्भव भएसम्म सुदूरका सबै बस्तीमा पुग्छन । २६ वर्षको उमेरदेखी देउडा खेल्न सुरु गरेका जोशी सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर देउडा खेलाइसकेका छन । 
     
    “१४/१५ वर्षको उमेरमा गोठालो जादा गीत गाउँथे देउडा खेलाउन थालेको २६ वर्षको उमेरदेखी हो ।” जोशीले भन्नुभयो–“मैले सुदूरमा देउडा खेलाउन थालेको ५५ वर्ष भइसक्यो ।” देउडा खेल्दा छुट्टै आनन्दप्राप्त हुने जोशीको भनाई छ ।  “मान्छे बुढो भएपनि मन बुढो हुदैन ।” गीतकार जोशी भन्छन–“१६ वर्षको उमेरदेखी देउडामा नै रमाए आनन्द लाग्छ सबैसंग भेट हुन्छ ।” उहाँले देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको बताउनुभयो । 
     
    देउडाले नयाँसंग परिचय हुने र भेटघाट हुने अवसर मिल्ने भएकाले आफुलाई यसैमा आनन्द लाग्ने गरेको जोशी बताउँछन । “देउडा भनेको मनोरञ्जनका लागि गाउने गीत हो ।” जोशीले भन्नुभयो–“आफु दुःखमा भएपनि देउडा नजिक पुग्यो भने आनन्द मिल्छ ।” देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरा समेत जान्न मिल्ने उहाँको भनाई छ । देउडामा श्रीकृष्ण लिला,रामलिला वा गाउँको कथालाई गीतका माध्यमबाट गाउने गरेको उहाँको भनाई छ । “गीत मार्फत सवालजवाफ हुँदा पुराना कुराहरु जान्ने अवसर मिल्छ ।” उहाँले भन्नुभयो–“गीत मार्फत मनोरञ्जन पनि हुने हाम्रो पुर्खा र देवी देवताको बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।” देउडामा गीतकारहरुले देवी देवताको गाथा,ईतिहास,संस्कृति र देशको वर्तमान अवस्थामा बारेमा समेत गीत मार्फत सवालजवाफ हुने गरेको उहाँको भनाई छ । सुदूरपश्चिममा रामदत्त जोशी भन्ने बित्तिकै युवादेखी पाका पुस्तासम्म आकर्षित हुने गरेको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन । “उहाँको संस्कृतिप्रतिको अथाह प्रेम छ ।” देउडिया (गीतकार) रमेश पन्तले भन्नुभयो–“उहाँले सुदूरपश्चिम भरि देउडा खेलाइसक्नु भएको छ ७५ वर्षको उमेरमा पनि युवा अवस्थाको जस्तै जोस छ ।” गीतकारलाई तत्कालै प्रतिउत्तर दिन माहिर जोशी विशेषगरि संस्कृति र ईतिहाससंग सम्बन्धित विषयवस्तुलाई देउडाका माध्यमबाट उठाउने गरेको पन्तले बताउनुभयो । 
     
    देउडामा विम्ब र अलन्कार सिर्जना गर्न सक्ने र तुरुन्तै प्रतिउत्तर दिन सक्ने देउडीकाका रुपमा रामदत्त जोशी सुदूरपश्चिममा नै चिनिने साहित्यकार कविराज भट्ट बताउँछन । “जोशी व्यङग्यमा पनि पोख्त छन र मनोरञ्जन दिन सक्ने जोशीमा अदभुत क्षमता छ ।” भट्टले भन्नुभयो–“उहाँमा पौराणिय कुराको ज्ञान पनि धेरै छ ।” आफुले सानै उमेरमा बैतडीको देहिमाण्डौ मेलामा जोशीलाई देउडा खेलाउन देखेको भट्ट सम्झिन्छन । “तीस वर्षअघि जुन जोशका साथ देउडा खेलाउथे अहिले पनि उस्तै छ ।” भट्टले भन्नुभयो–“उतिबेला पनि रामदत्त जोशीकै देउडा हेर्न भनेर गाउँ गाउँबाट मान्छेहरु देहिमाण्डौ पुग्थे ।”  जोशीसंग  सुदूरको सस्कृति र ईतिहासको ज्ञान रहेकाले नयाँ पुस्ताले पनि उहाँबाट सिक्नुपर्ने उहाँको भट्ट बताउँछन ।
     
    देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुबै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडी चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन । देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।
     
    देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाहरुबीच दोहरी हुने गर्दछ । यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ । देउडामा पुराण, इतिहास, राजनीति लगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गरेको छ ।  गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिनौ सम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन । पछिल्लो समय यसको महत्व अझ बढेको पाईन्छ ।


  • सम्बन्धित विषय:

  • # बर्ताेला जोशी


  • प्रतिक्रिया दिनुहोस