सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको सुडामा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती


पश्चिम प्रेस
शुक्रबार, भदौ २१ २०८१
  • 941
    Shares

  • images
    images
    कञ्चनपुरको सुडामा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

    महेन्द्रनगर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनर्निर्माण हुनसकेको छैन । 

    कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ ।

    गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो । त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवतजावत नै ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् ।

    त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन् ।

    सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ ।

    भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ । विज्ञ प्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताउनुभयो । यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै थियो । डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिनेछ ।


  • सम्बन्धित विषय:

  • # भत्किएको कल्भर्ट
  • # आवातजावतमा सास्ती
  • प्रतिक्रिया दिनुहोस