मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै


पश्चिम प्रेस
मंगलबार, असोज १ २०८१
  • 874
    Shares

  • images
    images
    सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

    महेन्द्रनगर ।  सुदूरपश्चिमका पहाडी जिल्लामा आज ‘बूढी पोल्ने’ पर्व धूमधामका साथ मनाइँदै छ ।  विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । 

    प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको सम्झनामा यो पर्व मनाइन्छ। भाद्र संक्रान्तिका दिनमा ठड्याइएको लिंगो अर्थात् बुढीलाई आज पोलेर बन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ।

    यस पर्वमा गाईव स्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझको लिंगो ठड्याई रूखहरू, रूखका हाँगाहरू काटेर एकै ठाउँमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ। द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लगाएको थियो। भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसियालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको छ।

    आज गाईवस्तुहरूको गोबर थुपार्ने ठाउँमा काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् र बेलुकीपख जलाउने चलन रहेको छ। दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ। यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ।

    पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने गर्छन्।

     हरेक वर्षको भदौ १ गतेदेखि प्रत्येक स्थानीयले आफ्नो गोरु गुहारमा काँडा र झारपातले बेरेर बनाएको बन्ढुनीलाई हरेक वर्षको असोज १ गते धार्मिक परम्पराअनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ।


  • सम्बन्धित विषय:

  • # बुढी पोल्ने
  • प्रतिक्रिया दिनुहोस