काठमाडौँ । दशैं नजिकिदै जादा धनगढी रुटमा हवाई भाडा आकासिएको छ। श्री एयरलाइन्सले चार र बुद्ध एयरलाइन्सले तीन धनगढीका लागि उडान भर्दै आएका छन्। दशैंको समयमा काठमाडौंबाट धनगढीको भाडा १३ हजार ३ सय रुपैयाँदेखि १७ हजार १० रुपैयाँसम्म पुग्ने गरेको छ ।
धनगढीदेखि काठमाडौंसम्मको भाडा भने न्युनतम रु सात हजार नौ सय छ।
धनगढी विमानस्थल कार्यालयका सूचना अधिकारी दीपक भट्टका अनुसार वायुसेवा कम्पनीहरूले दशैंका लागि अफर फेयर हटाएका कारण भाडा महँगो भएको हो। सरकारले निर्धारित सीमा १७ हजारसम्म मात्र लिन पाउने भए पनि यात्रुहरूको चापका कारण भाडा वृद्धि भएको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी भट्टले विमान कम्पनीहरूले सरकारले तोकेको दरभन्दा बढी भाडा लिन नपाउने बताए। तर, अफर फेयर हटाइएकाले भाडा बढेको उनले स्वीकार गरे।
दशैंको समयमा हवाई भाडा बढ्नु एउटा पुरानो समस्या हो। सरकारले यस समस्या समाधान गर्न कुनै ठोस कदम चाल्न सकेको छैन। यात्रुहरूले सरकारले हवाई भाडा नियमन गर्ने कानून कडा बनाउनुपर्ने माग गरेका छन्।
किन बढ्छ दशैँको समयमा हवाई भाडा?
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार हवाई भाडा तीन वर्षदेखि स्थिर रहेको छ। यात्रुको चापका कारण दशैँमा हवाई भाडा तोकिएको उच्चतम बिन्दुमा पुगी, चाडपर्वको समयमै टिकट महँगो हुने गर्छ। दशैँमा काठमाडौंबाट बाहिर जाने यात्रुहरू बढी हुने र रित्तो जहाज फर्काउनु पर्ने हुँदा भाडा स्वाभाविक रूपमा बढ्ने बताइएको छ।
.gif)