शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कारागार कार्यालयकै कर्मचारीबाट महिला कैदी बलात्कृत


पश्चिम प्रेस
शुक्रबार, असोज ११ २०८१
  • 835
    Shares

  • images
    images
    कारागार कार्यालयकै कर्मचारीबाट महिला कैदी बलात्कृत

    सप्तरी - सप्तरी जिल्ला कारागारमा एक महिला कैदीबन्दी बलात्कृत भएकी छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा जन्मकैद भुक्तान गरिरहेकी महिलालाई कारागारकै एक कर्मचारीले बलात्कार गरेको आरोप लागेको छ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरमा परेको जाहेरी अनुसार, बलात्कारको आरोप सिराहा राजविराज नगरपालिका-८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादवमाथि लागेको छ। यादवले पीडित महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी २०८० माघ ५ गते अपराह्न ४:३० बजे बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

    आरोपी यादव सप्तरीस्थित कारागार कार्यालयमा १७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले जाहेरी प्राप्त भएको पुष्टि गर्दै, अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको जानकारी दिए। तर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जाहेरीबारे जानकारी नभएको बताएका छन्।

    जाहेरी अनुसार, पीडित महिला २०७६ साउन १६ देखि सप्तरी महिला कारागारमा कैद भुक्तान गर्दै आएकी थिइन्। उनले एक वर्षअघि मात्रै नाइकेको जिम्मेवारी पाएकी थिइन्, जसले गर्दा उनलाई कारागारको प्रशासनिक कार्यालयसम्म आउजाउ गर्न छुट थियो।

    घटनाको दिन आरोपी यादवले पीडितलाई विशेष काम छ भन्दै बिजुलीघरमा लगेर बलात्कार गरेको उल्लेख छ। यादवले पीडितलाई धम्की दिएर र बल प्रयोग गरेर यो कृत्य गरेको जाहेरीमा उल्लेख छ। बलात्कारपछि आरोपी यादवले घटना सार्वजनिक नहोस् भन्ने उद्देश्यले पीडितलाई पटक-पटक अन्य कारागारहरूमा सारेको देखिन्छ। पीडितलाई पहिले सिराहा, त्यसपछि फेरि सप्तरी र अन्तमा उदयपुर कारागारमा सारिएको थियो।

    यादवले पीडितलाई घटना सार्वजनिक नगर्न भन्दै पटक-पटक धम्की दिएको र प्रलोभन दिने प्रयास गरेको जाहेरीमा उल्लेख छ।

    लामो समयसम्म मौन रहेपछि, पीडित महिलाले अन्ततः २०८० भदौ २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दर्ता गरिन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनास्थल सप्तरी भएकोले २०८० भदौ ३० गते जाहेरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाएको जनाएको छ।

    सप्तरी कारागार कार्यालय प्रमुख प्रवीणकुमार अधिकारीले भने घटना जाहेरीमा उल्लेख भएजस्तो नभएको दाबी गरेका छन्।


    प्रतिक्रिया दिनुहोस