काठमाडौँ । पहिलो पटक टी-२० ब्लाइन्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको नेपाली टोली घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
आज भएको खेलमा नेपालले दिएको ९४ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानी खेलाडी कमरान अख्तर म्यान अफ द म्याच घोषित भए।
नेपालले यसअघि लिग चरणको खेलमा पनि पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो।
२०१२ देखि विश्वकप खेल्दै आएको नेपालले पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको थियो। भारतको सहभागिता नरहेपछि नेपालले ‘वाकओभर’ पाउँदै महत्वपूर्ण अंक प्राप्त गरेको थियो, जसले गर्दा नेपाल सेमिफाइनलमा पुग्न सफल भएको थियो।
नेपालले सुरुवाती दुई खेल श्रीलंका र बंगलादेशसँग गुमाएको थियो। त्यसपछि अफगानिस्तान र दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो।
लामो यात्रा र अभावका बीच पाकिस्तान पुगेको नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर सबैलाई चकित पारेको थियो। यद्यपि, आजको खेलमा पाकिस्तानको अगाडि टिक्न सकेन।
.gif)