काठमाडौँ । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई रु. २ लाख जरिवाना गरेको छ।
सुपर मार्केटले बासी/किरा परेको खाना बेचेको गुनासो आएपछि महानगरको कृषि तथा पशुपंक्षी विभागले अनुगमन सुरु गरेको थियो । विभागका अनुसार मिति २०८१/०८/१९ गते गरिएको अनुगमनका क्रममा उक्त सुपरमार्केटमा म्याद नाघेको नरिवल (Dry Coconut) बिक्री गरिरहेको फेला परेको थियो। उक्त नरिवलको ४४ प्याकेजमा ढुसीजन्य पदार्थ फेला परेको महानगर कार्यालयले जनाएको छ । पक्राउ गरिएको नरिवल प्याकेजमा उत्पादन मिति सेप्टेम्बर २८, २०२४ र म्याद सकिने मिति जनवरी २८, २०२५ उल्लेख गरिएको थियो।
काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ङ) बमोजिम कसुर गरेको पाइएकोले सोही ऐनको दफा ३० (१), (ख) बमोजिम जरिवाना गरिएको विभागका निरीक्षण अधिकृत डा. अवशेष झाले जानकारी दिनुभयो।
विभागले सुपरमार्केटलाई अब उप्रान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्न प्रवन्ध मिलाउन निर्देशन दिएको छ।
.gif)