महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आठ वर्ष पहिले जडान गरेको एक्स-रे मेसिन प्रयोगविहीन भएको छ । विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन प्रयोगमा नल्याइदै थन्किएको हो ।
कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताए । एक करोड रुपैयाँको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा उक्त मेसिन जडान गरिएको थियो ।
गड्डाचौकी भन्सार भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, बैंग्लोर, सिमला, देहरादुन, मुम्बई, हरिद्वारलगायतका ठाउँमा जाने गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका भन्सारमध्ये पहिलो पटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ ।
सूचना अधिकारी भट्ट मेसिनको खास्सै प्रयोग पनि नभएको बताउँछन् । हातहतियार लगायत अवैध सामान मुख्य नाकाबाट आउने सम्भावना पनि कमै रहेकाले अन्य दैनिक सामान चेकअपका लागी भने मेसिनको प्रयोग नगरिएको उनले बताए । उनले भने,–‘मेसिन भए छिटोछरितो रूपमा सामान चेक गर्न सहज हुने थियो’ अहिले मेसिन बिनै सामानको चेकजाँच कार्य भइरहेकाले केही समय भने लाग्ने गरेको छ ।’
भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्स-रे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा यात्रुले अनावश्यक सास्ती खेप्नु परेको छ । मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार, नाका भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेको नियमित जाँचमा सहज हुने अनुमान गरिएको थियो ।
मेसिन जडानपछि करिब एक वर्षसम्म सेवा प्रदान गरिएको भन्दै दक्ष जनशक्तिको अभाव, लामो समयदेखि बन्द हुनु, मेसिन जीर्ण बन्दै गएकाले पुनः सञ्चालनमा ल्याउन नसकिएको सूचना अधिकारी भट्टले जानकारी दिए । “एक्स-रे मेसिनमा खराबी आएपछि प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने, नेपालबाट जनशक्तिले नभ्याएपछि दिल्लीबाट पनि मगाए पनि मर्मत गर्न सकिएन ।”
भन्सार कार्यालयले मेसिन सञ्चालनमा नल्याउँदा भारतमा सास्ती खेपेर आएका नेपाली कामदारले स्वदेशमा जाँचका नाममा दुःख पाउने गरेका स्थानीयले गुनासो गरेका छन् ।
“भन्सार कार्यालयले मेसिन बन्द गरेर हातले छामछुम गरेर जाँच गर्छ यो प्रभावकारी विधि होइन”, स्थानीय रमेश केशीले भने,“मेसिन सञ्चालनमा ल्याए यात्रु र भन्सार कर्मचारी दुवैलाई सहज हुन्छ ।” अहिले प्रविधिको युगमा हातले जाँच गर्नु उपयुक्त नहुने भन्दै उनले तत्काल एक्स-रे मेसिन प्रयोगमा ल्याउन जोड दिए । गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकसमेत नेपाल भित्रिने भएकाले नाकामा सहज जाँच हुनुपर्ने यहाँका व्यवसायीहरूको भनाई छ ।
.gif)