महेन्द्रनगर । कञ्चनपुरको एक विद्यालय बाट काठ बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका-२ स्थित सरस्वती माध्यमिक विद्यालयबाट ८६.१३ क्युफिट काठ बरामद गरिएको हो ।
सब डिभिजन वन कार्यालय वाणीका अनुसार, आज (आइतबार) उक्त मात्रामा कु-काठ (बररो) बरामद गरिएको छ ।
सब डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहका अनुसार, शनिबार साझ मात्रै वडा अध्यक्ष अर्जुन साउद विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहेको उक्त विद्यालयमा अबैध तरिकाले काठ कटानी गरिएको फेला परेको थियो । आज बिहान आफुहरुको टिम उक्त विद्यालयमा पुग्दा वडा अध्यक्ष साउद सहित मेयर हेमराज ओझाले कर्मचारीमाथि हातपातको प्रयास समेत गरेको सब डिभिजन वन कार्यालय वाणीका प्रमुख शाहले बताए ।
कानुनी राज्यमा विद्यार्थीहरु उचालेर आफुहरुमाथी गरिएको अन्यायको विरुद्धमा जाने उनले बताएका छन् । विद्यालय व्यवस्थापन समितिले उक्त रुखको जरा समेत नदेखिने गरि डोजर लगाएर पुरै उखालेको भेटिएको सब डिभिजन वन कार्यालय वाणीले जनाएको छ ।
रुख कहिले काटिएको भने खुल्नमा आएको छैन । तर वडा अध्यक्ष साउदले भने पुस अन्तिम सातादेखि हुने रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विद्यालय परिसरमा सरसफाइ गर्न खोजिएको बताएका छन् ।
उनले ठाडो रुख नभई ढलेको रुखको गोलिया बनाइएको दाबी गरे । उनले अनुमती भने नलिईएको स्वीकार गरेका छन् ।
.gif)