महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर मैला व्यवस्थापन केन्द्र निमार्णको कार्य अन्तिम चरणमा रहेको छ । नगरपालिकाको वनहरा खोला किनारामा निर्माण भइरहेको फोहर मैला व्यवस्थापन केन्द्र निमार्णको कार्य अन्तिम चरणमा रहेको हो ।
नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराले एडिबीको आर्थिक सहयोगमा वडा नम्बर ११ स्थित श्री कृष्ण सामुदायिक वन क्षेत्रमा फोहर मैला व्यवस्थापन केन्द्र निर्माणको कार्य ८९ प्रतिशत सम्पन्न भएको जनाए ।
बस्ती भन्दा डेढ किलोमिटर पर फोहर मैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको निर्माणको कार्यगरिरहेको सहरी विकास कार्यालय धनगढीले जनाएको छ ।
फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि २०७९ जेठमा रमण केएस जेबीसँग २६ करोड ७७ लाखमा सम्झौता गरिएको थियो । २० महिनामा निर्माण कार्य सक्ने गरी सम्झाँैता भए पनि ढिलो गरी काम अगाडी बढेकाले समयमै निर्माणको कार्य हुन नसकेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए ।
अहिले दोस्रो पटक म्याद थप गरेर निर्माणको कार्य भइरहेको सहरी विकास कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर पुष्प भट्टले जानकारी दिए ।
उनले आगामी फागुन महिनामा भित्र निर्माणको कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताए । फोहर मैला व्यवस्थापन केन्द्र निर्माण भएपछि फोहरबाट मोहर बनाउने लक्ष्य नगरपालिकाको छ । अहिले नगरपालिकाले कृष्ण सामुदायिक वनमा फोहर व्यवस्थापनको कार्य गरिरहेको छ । वनहरामा केन्द्र निर्माण सम्पन्न भएपछि ५० वर्ष सम्म कुनै असर नपर्ने गरी फोहर मैला व्यवस्थापन केन्द्रलाई पर्यटकीय स्थल समेत बनाउने योजना रहेको छ ।
.gif)