महेन्द्रनगर । सुदूरपश्चिममा चट्याङ लागेर ५ जना घाइते भएका छन् । शनिबार बैतडी र डोटीमा चट्याङ पर्दा ५ जना घाइते भएको प्रहरीले जनाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार, बैतडीमा एकै घरका चारजना घाइते भएका छन् भने डोटीमा एक जना घाइते भएका छन् ।
बैतडीको शिवनाथ गाउँपालिका–२ पोखरामा स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका हुन् ।
घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, डोटीको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङ लागेर २३ वर्षीय धिरजबाबु रोकायालाई घाइते भएका छन् ।
कृषि गणना गर्ने क्रममा स्थानीय भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा चोट लागेको छ ।
उनको स्थानीय सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।
.gif)