महेन्द्रनगर । बझाङको दुर्गम साइपाल गाउँपालिकामा नुनको अभाव हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत साउन महिनामा साईपालमा नुन ढुवानीका लागी बोलपत्र आह्वान गरेर ढुवानीकर्ता समेत छनोट गरेको थियो । तर छनौट भएका ठेकेदार सँग सम्झौता नै नहुँदा विगत पाँच महिना देखि साईपालमा नुन ढुवानी हुन सकेको छैन । जसले स्थानीयलाई नुनको अभाव सृजना भएको हो ।
अहिले दैनिक प्रयोगका लागी समेत नुन अभाव भएको विकट साइपालका स्थानीयहरूले गुनासो गर्न थालेका छन् । एक वर्ष पहिले नुन खरिद गरेका साइपालका स्थानीय त्यसपछि भने नुन खरिद गर्न नै नपाएको बताउँछन् । धुलिका स्थानीय मोतिमा रोकाया नुनको अभावले समस्या खेप्नुपरेको बताउँछिन् । धुलिमा ठुलो सङ्ख्यामा पालिएका भेडा च्याङ्ग्रा र पशु बस्तुलाई पनि त्यही नुन खुवाउनु पर्ने भएकाले नुन अभाव भएको उनले बत्ताइन् ।
अहिले साईपालका स्थानीयलाई नुन अभावमा दैनिकी गुजार्न समस्या भएको गुनासो गरिएको छ । साईपालका लागी ढुवानीकर्ता कम्पनी देउती बज्यै कन्स्ट्रक्सन एस प्रालिले साल्ट ट्रेडिङ कर्पोरेसनले सम्झौता नगर्दा नुन ढुवानी हुन नसकेको बताएको छ । ‘कर्पोरेसनले पत्रिकामा आशयको सूचना पनि निकाल्यो, सम्झौता गर्न आउँ भनेर पत्र पनि दियो तर सम्झौता गर्न जाँदा कहिले के कहिले के भनेर टारिरहेको छ,’ ढुवानीकर्ता कम्पनी देउती बज्यै कन्स्ट्रक्सन टोपनारायण चालिसेले भने, ‘ स्थानीयहरू मारमा परेका छन्, सम्झौता नभएर कसरी काम सुरु गर्ने ?’
उनले साइपालको नुन ढुवानीको विषयमा अख्तियारमा मुद्दा परेको भन्दै कर्पोरेसनले ढुवानी गर्न नमानेको बताए ।
.gif)