शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह


पश्चिम प्रेस
बुधबार, पुस २४ २०८१
  • 751
    Shares

  • images
    images
    विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

    काठमाडौँ ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन् ।

    परराष्ट्रमन्त्री राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

    हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।

    सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्यवस्थामा रहेका नागरिकहरुको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी गराएका थिए ।

    सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेकाे थियाे।

    त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन्। उनीहरुमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ।

    हमासले पहिलो चरणमा महिला, बालबालिका र बृद्धबृद्धाहरु अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले विपिनलाई पनि रिहाइका लागि पहल गर्न नेपाल सरकारले आग्रह गरेको हो। 


  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस