महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८१ को उपाधि श्री बैजनाथ माध्यमिक विद्यालयले जितेको छ ।
महेन्द्रनगरस्थित कबड हलमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, ४ रजत र १ कांस्य पदक जित्दै भीनपा–४ स्थित बैजनाथ माविले नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । भीमदत्त नगरपालिका–११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यमिक विद्यालयले १२ स्वर्ण, ३ रजत र ९ कास्यपदक जितेको छ । यस्तै पूर्णा माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ कांस्य पदक जित्दै तृतीय स्थान हासिल गरेको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र–छात्रा दुवै तर्फ भलिबल, कबड्डी, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्तर्गत लामो तथा छोटो दुरीका दौड लगायत विभिन्न विधाका खेल खेलाइएको थियो । नगरपालिकाले यो वर्ष आधारभूत तहलाई समेत प्रतियोगितामा समावेश गरेको थियो ।
प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरू जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।
.gif)